संगालोखबर


विराटनगर । आज असार १५, दही चिउरा खाने दिन सँगसँगै २२ औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विभिन्न सङ्घसंस्थाहरूले सामूहिक रूपमा धान दिवस मनाउँदै आएकामा पछिल्लो समय विभिन्न विद्यालयहरूले पनि मनाउन थालेका छन् ।

विद्यालयहरूले व्यवहारिक ज्ञान वृद्धिसँगै असार १५ को महत्व र कृषि पेसाको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यार्थीलाई रोपाइँमा सरिक गराएका छन् । मोरङको ग्रामथान गाउँपालिका-३ मंगलहाटमा रहेको ग्रामथान मन्टेश्वरीले एक/दुई कक्षाका बालबालिकाहरूलाई धान दिवसको अवसरमा रोपाइँमा सरिक गराएको छ ।

Advertisement

‘नैतिक संस्कारसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो कर्तव्य हो’, प्रिन्सिपल कृष्ण पौडेलले भने, ‘बालबालिकाहरूलाई व्यबहारिक ज्ञान पनि दिनुपर्छ भन्ने उद्देश्यले विद्यालय परिसरमै धान रोप्न सिकाएका हौँ ।’

यस्तै मोरङको बुढीगंगा गाउँपालिका-३ मा रहेको स्मृति इङ्ग्लिस बोर्डिङ स्कुलले पनि धान दिवस मनाएको छ । जसमा असारे भाकासँगै विद्यार्थीहरू रोपाइँमा सरिक भएका थिए । विद्यालयका प्रिन्सिपल रिता न्यौपानेले कृषिमा हराउँदै गएको मौलिकताको जगेर्ना गर्नका लागि  उत्सवकै रूपमा विद्यार्थीहरूलाई धान दिवसमा सहभागी गराएको बताइन् ।

‘हामीले हाम्रा बालबालिकालाई हाम्रो मौलिकता सिकाउन आवश्यक थियो,’ न्यौपानेले भनिन्, ‘हामी कृषि प्रधान देश तर हाम्रो कृषिको मौलिकता नै हराएको अवस्थामा असार पन्ध्रले भएपछि केही अनुभूति दिलाउन खोजेका हौँ ।’

यस्तै धनकुटाको निजामती आवासीय माध्यमिक विद्यालयले पनि विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले रोपाइँमा सरिक गराएको थियो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!