संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ बबियामा नाबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार अक्षय सरदारकी ५ वर्षीया छोरी आत्तिका सरदारको शव फेला परेको हो । प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ ।

आज बिहान ३ बजे नाबालिका हराएको भनेर आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा नाबालिकाको शव घरबाट सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

‘हिजो आमाबाबुले काकाको जिम्मा लगाएर ससुराल, माइती गएका रहेछन्’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘राति ३ बजे भतिजि हराएको भनेर काकाले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा घरबाट सय मिटर टाढा शव फेला परेको हो ।’

घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको डीएसपी चुडालले जानकारी दिइन् । ‘हामीले फरक-फरक ढङ्गबाट अनुसन्धान अघि बढाएका छौं’, उनले भनिन्, ‘पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्छ ।’

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नाबालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान छ । यद्यपि अनुसन्धानपछि मात्रै यसको पुष्टि हुने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!