
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ विश्वकर्मा चोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रतुवामाई-३ चौकीघाटका ४३ वर्षीय ढक्कुलाल गनगाईँ छन् ।
बिहीबार राति ८ः२५ बजे हुलाकी सडकखण्ड अन्तरगत झपडतलबाट डाइनियातर्फ आउँदै गरेको को १ त ६१९१ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ९१६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा गनगाईँको छाती र घाँटीमा चोट लागेको थियो । प्रहरीका अनुसार घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । रंगेलीमा उपचार सम्भव नभएपछि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा राति १ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक सुनवर्षी नगरपालिका-९ विर्ताका २९ वर्षीय राजकुमार ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













