
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय देवान राई छन् ।
प्रहरीका अनुसार उनी इटहरीमा डेरा गरेर बस्दै आएका थिए । उनले बुधबार राति आफू बस्दै आएको घरबाट करिब ५० मिटर टाढा रहेको खेतमा करेन्ट लगाएर माछा मार्न खोजेका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढीगंगामा ल्याइएको थियो । प्रहरीका अनुसार अस्पताल ल्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













