बक्राहा खोला नियन्त्रणका लागि नियमक निकायले आश्वासनमात्र दिएकाले प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरूद्वारा गठित बक्राहा नदी नियन्त्रण तथा तराई मधेस संरक्षण विकास पहल समितिले नदी नियन्त्रणका लागि दबाब सिर्जना गर्न आन्दोलन थालिएको बताए ।
समितिका संयोजक मानबहादुर श्रेष्ठले मंगलबार सञ्चार क्लबमा नदी नियन्त्रणका लागि सारोकारवालासँग पटकपटक माग राख्दा पनि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका बताउनुभयो ।
समितिले सार्वजनिक गरेका आन्दोनलको पहिलो कार्यक्रममा फागुन १० गते पत्रकार सम्मेलनको आयोजना, कार्यक्रमहरूमा फागुन १९ गते सरोकारवाला निकायहरूमा घेराउ तथा धर्ना, फागुन २५ गते जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय मोरङको प्राङ्गणमा रिले अनसन र २५ गतेपछि अनिश्चितकालिन आमरण अनसन गरिने रहेका छन् । यसैक्रममा प्रस्तुत छ
बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरू
कारण नं. १. बक्राहा नदीमा थुप्रिएको ढुंगा, गिटी, बालुवा – बक्राहा नदीले मधुमल्लामा ढुंगा, गिटी, बालुवा थुपारेको छ । यसरी थुप्रिएको ढुंगा, गिटी, बालुवाले नदीको सतह अग्लो र बस्ती होचो छ । त्यसैकारण पानी तटबन्ध तर्फ हान्निएको छ । पानीको बेगले तटबन्धलाई कमजोर बनाउँदै गएको छ । कमजोर तटबन्धलाई बर्खाको समयमा नदीले भत्काइ कहिले पूर्वी तथा कहिले पश्चिमतर्फ विपत्त निम्त्याउने गरेको छ । नदी नियन्त्रणका लागि कनिका छरेजस्तो बजेट आउने गरेकाले नदी नियन्त्रणको प्रयास सबै निरर्थक सावित भइसकेका छन् ।
कारण नं. २ पहिरै पहिरो – रमितेखोला–५ मा रहेको ध्यामे पहिरो सम्भवतः नेपालकै दोस्रो पहिरोमा पर्दछ । झण्डै दुई विगाहा क्षेत्रफलमा फैलिएको यो पहिरोबाट लेदोसहितको ढुंगा, गिटी, बालुवा बग्ने गर्दछ । सो ढुंगा, गिटी, बालुवा बक्राहा मिसिने गर्दछ । यस्तै, चुरे पहाडका अन्य क्षेत्रमा पनि पहिरैपहिरो रहेको छ । जसले गर्दा नदीको सतह अग्लो हुँदै गएको छ ।
कारण नं. ३. टालटुले मर्मत – बक्राहाको तटबन्ध दुई दशक पुरानो हो । ओपेकको आर्थिक सहयोगमा २०५५–५६ सालमा बक्राहा नदी नियन्त्रणका कार्य सञ्चालन गरिएको थियो । तर, भरपर्दो मर्मतको अभावमा तटबन्ध कमजोर बन्दै गइरहेको छ ।
पानीको वहावले तटबन्धमा केन्द्रित भएको देखिरहँदा समेत प्लाष्टिकका बोराको भरमा मर्मत र कटान रोकथाम हुँदै आएको छ । जुन वालुवामा पानी खन्याएसावित भयो । स्थानीयवासी दह्रो बाँधको पक्षमा छन् । बक्राहा बाढीपीडित संघर्ष समिति नै गठन गरेर उनीहरूले सरकारलाई दबाब दिँदै आएका छन् । तर, तटबन्ध मर्मतको नाममा बर्सेनि झारा टार्ने काम गरिँदै आएको छ । र, अब पनि यसरी नै भारो टार्ने हो भने आसपासका बस्तीलाई बक्राहाले उठिबास नै लगाउनेछ ।
कारण नं. ४. सरकारको बेवास्ता – बक्राहाले बर्सेनि उठिबास लगाउँदै आएको छ, बक्राहाको तटबन्ध खतरामा छ लगायत समाचार सञ्चार माध्यमहरूले सम्प्रेषण गर्दै आइरहेका छन् । सरकार तथा सम्बन्धित निकायको चासो बढ्ने गरेको छ, जतिबेला बक्राहाले वितण्डा मच्चाउछ ।
यसपटक पनि बेलैमा बक्राहा नियन्त्रणका लागि प्रयास थालिएन भने पूर्वीमोरङको मधुमल्ला, हसन्दह, राजघाट, अमरदह, गोविन्दपुरलगायत क्षेत्रमा ठूलै संकट निम्त्यिाउने छ । यसपटक पनि तटबन्ध निर्माण गरिएन भने बक्राहा नियन्त्रणका लागि धेरै ढिला भइसक्नेछ । बाढीको समयमा न त बक्राहाको समस्याको बारेमा हल्ला गरेर फाइदा छ, न त रोकथामको झिँजो प्रयास गरेर नै ।
अझ केही महिनाअघि सिचाईं मन्त्री दीपक गिरीसहितको सरकारी टोलीले बक्राहा क्षेत्रको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री गिरीले दुई महिनाभित्र परिणामसहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै युद्धस्तरमा काम थाल्न मातहतका निकायलाई निर्देशन दिनुभयो । सरकारले चाह्यो भने त नदीनियन्त्रणमा धेरै थोक गर्न सक्छ । तर, सरकारमा भने इच्छाशक्ति, देखिँदैन ।
मन्त्री आउने र आश्वास दिने तर काम सिन्को नभाचिने पुरानै शैली हो । प्रविधिले रातारात उकालो टेकीरहेको विश्वसन्दर्भमा बक्राहा–नूनसरीमा आकाश धमिलो हुने बित्तिकै अब भगवान भरोसा भनेर बस्नुपर्ने बाध्यता छ । यसपटक पूर्वीमोरङ साँच्चै खतरामा छ । मधुमल्ला, राजघाट, गोविन्दपुर, हसन्दह, अमरदह, इटहरालगायतका क्षेत्रमा बक्राहामा बाढी आउनु र कटान गर्नु बर्सेनि बढ्दो छ ।
खतरा रहेको स्थानमा भरपर्दो रोकथाम मर्मत तथा कटान प्रयास गर्ने इच्छाशक्ति नहुँदा भने पक्कैपनि समस्या नै मान्नुपर्छ ।