
विराटनगर । विराटनगरबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१६ का ५५ वर्षीय एसराज लामा छन् ।
झापाको अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६ बस्ने २१ वर्षीया ईशा योगी शेर्पालाई शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार एसराजका छोरा रेम्बो भनिने रुद्रराजसँग ईशाको प्रेम सम्बन्ध थियो । पसलमा काम गर्ने क्रममा ईशाको रुद्रराजसँग चिनजान भएको थियो । सोही क्रममा २०७६ साल बैशाख ८ गते रुद्रराजले ईशालाई घरमा बोलाएका थिए ।
मोरङ प्रहरीका अनुसार परिवारका सदस्यहरूकै मिलेमतोमा ईशाको शरीरमा पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका थिए ।
उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै कीर्तिपुर अस्पताल काठमाडौं लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
एसराजसहित उनको परिवारविरुद्ध २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा उनीहरू फरार भएका थिए । प्रतिवादीहरू मध्ये एसराजलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
पक्राउ परेका एसराजविरुद्ध मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी चुडालको भनाइ छ ।

संगालोखबर 













