संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाले वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी वृत्ति परामर्श सेवाको शुभारम्भ गरिएको हो ।

एसइईपछि विद्यार्थीहरूले के पढ्ने, सामान्य तथा प्राविधिक शिक्षाको महत्व लगायत वैदेशिक रोजगारी तथा रोजगारीबाट फर्किएका युवाहरूलाई परामर्श दिने उद्देश्यले वृत्ति परामर्श सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार अनुभवी परामर्शकर्ताले निःशुल्क परामर्श सेवा दिनेछन् । वृत्ति परामर्श सेवा इकाइबाट रूचि, खुबी र क्षमता अनुसार उपयुक्त पेशा छान्न सहयोग, अनलाइन र अफलाइन माध्यमबाट वृत्ति छनोट, काम र शिक्षाको संसार बारेमा परामर्श दिइने छ । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले निःशुल्क भएकाले सबैले परामर्श सेवा लिन आवश्यक रहेको बताए ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, बायोडाटा लेखन, अन्तरवार्ता तयारी र सञ्चार सीप, दिगो जीविकोपार्जन र उद्यमशीलता विकास, सीप तालिम तथा रोजगारी, जीवनोपयोगी सीप र प्राविधिक शिक्षालय, शैक्षिक संस्था र विश्वविद्यालय बारे परामर्श सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए ।

यो सेवाबाट विशेषगरी विद्यालयमा पढ्ने विद्यार्थीहरू लाभान्वित हुने उनको भनाइ छ । ‘विद्यार्थीहरूले आफ्नो रूचि र क्षमता अनुसारको विषय वा क्षेत्र छनोट गर्न सकुन् भन्ने उद्देश्यले वृत्ति परामर्श सेवा इकाइको शुभारम्भ गरेका हौं’, प्रमुख प्रशासकीय अधिकृत राईले भने, ‘परामर्शबाट विद्यार्थीहरूले थप सफलता हासिल गर्न सक्छन् ।’  दैनिक बिहान १० बजेबाट अपराह्‍न ४ बजेसम्म परामर्श सेवा सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!