संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले अनावश्यक भ्रम फैलाएर संस्थाको बदनाम गराउन खोजेको भन्दै सहारा एनिमल केयरका संस्थापक रश्मि थापाले आपत्ति जनाएकी छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरले आफ्नो कमजोरी लुकाउन हुँदै नभएको कुरालाई प्रचार गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

Advertisement

‘गत जेठ ११ गते आइतबार सम्पन्न कुकुर बन्ध्याकरण शिविर सम्बन्धी विवाद, त्यसको अघिल्लो दिन शनिबार भएको घटनाक्रम र विभिन्न माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनिन्, ‘यी सबै संस्थामाथि लगाइएका झुटा आरोप हुन् । यसले संस्थाको मानमर्दन तथा सांगठनिक छवि धूमिल पार्ने प्रयास भएको छ ।’

जेठ ९ गतेदेखि विराटनगर-१९ मिलन चोकमा महानगर र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट पोखराको समन्वयमा सञ्चालित कुकुर बन्ध्याकरण शिविरमा लापरबाही भएको भन्दै स्थानीयले सूचना दिएका थिए । सोही आधारमा त्यहाँ पुगेका सहारा एनिमल केयरका प्रतिनिधिले सुधारको माग गरेका थिए ।

थापाका अनुसार सोही क्रममा केही समय बन्ध्याकरण कार्य स्थगित भएकोमा सोही दिन सम्बन्धित निकायसँग सहमति जुटाएर ५६ वटा कुकुरको सफल बन्ध्याकरण भएको थियो । तर महानगरले जेठ १० गते भएको छलफलमा एनिमल केयरका प्रतिनिधिलाई अभिव्यक्ति दिन नदिई महानगरले एक पक्षीय ढङ्गबाट आरोप लगाएको उनले गुनासो गरिन् ।

यसवर्ष महानगरबाट परियोजना नपाए पनि एनएमबि बैंकको सहकार्यमा एक सय ५० वटा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको थापाले बताइन् । उनले महानगरले लगाएको आरोप मिथ्या भएको भन्दै कुकुरको जीवन, स्वास्थ्य र सुरक्षा आफूहरूको पहिलो प्राथमिकता भएकाले त्यसै अनुसार कार्य गर्दै आएको बताइन् ।

उनले झुटा आरोप र नियोजित भ्रम सिर्जना गरेर संस्था, अभियन्ता वा सत्यनिष्ठ प्रयासहरूको अवमूल्यन नगर्न समेत अनुरोध गरेकी छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कार्यक्रम नपाएपछि सहारा एनिमल केयर महानगरप्रति खनिएको बताए ।

‘अर्को संस्थाले काम गर्न सुरु गरेपछि उहाँहरूले अवरोध पुर्‍याउनुभयो’, मेयर कोइरालाले भने, ‘उहाँहरूले नौ लाखको कार्यक्रम चाहियो भन्दै आउनुभएको थियो । उहाँहरूले कार्यक्रम नपाएपछि यस्तो गर्नुभएको हो । अरु कुनै कारण छैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!