
विराटनगर । विराटनगर-३ स्थित कोशी बालसुधार गृहबाट तीन जना बालक फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका उनीहरू सोमबार दिउँसो २ बजेतिर फरार भएका हुन् ।
फरार हुनेमा उदयपुर, तेह्रथुम र इलामका बालक छन् । उनीहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ र एक जना कक्षा ७ मा पढिरहेका थिए । बालसुधार गृहका अनुसार उदयपुर र तेह्रथुमका १८-१८ वर्षका तथा इलामका १७ वर्षीय बालक फरार भएका हुन् ।
बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये तीन वर्षदेखि सुधार गृहमा रहेका उदयपुरका १८ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजाय तोकिएको थियो ।
बाँकी दुई जनालाई पुर्पक्षका लागि पाँच महिनाअघि सुधार गृहमा ल्याइएको थियो । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













