धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, स्थित गुरुङ टोलमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । श्रीमतीसहित स्थानीय युवाहरूको समूहले कुटपिट गर्दा ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे घरबाट करिब ५ सय मिटर टाढा मगर मृत फेला परेका थिए । उनको घाँटीमा डामसहित शरीरका विभिन्न भागमा चोटपटक थियो । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उनकी कान्छी श्रीमती ४४ वर्षीया जितमाया लिम्बू, १९ वर्षीय इन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी शेर्पा र एक जना १६ वर्षीय बालकलाई पनि पक्राउ गरेको छ ।
घटनाको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा कुटपिटबाट मगरको मृत्यु भएको देखिएपछि कुटपिटमा संलग्नहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘श्रीमान-श्रीमतीबीच झगडा भइरहने गरेको रहेछ, अघिल्लो दिन पनि झगडा हुँदा उनले श्रीमतीलाई कुटपिट गरेको पाइयो,’ डीएसपी खनालले संगालोखबरसँग भने, ‘श्रीमान-श्रीमतीको झगडाको विषयलाई लिएर अरुले कुटपिट गर्दा उनको मृत्यु भएको खुलेको छ ।’
पक्राउ परेकाहरूले प्रहरीसँगको प्रारम्भिक बयानमा पनि खेमबहादुरलाई कुटपिट गरेको स्वीकार गरेका छन् । उनको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । पक्राउ परेकाहरू विरुद्ध आज जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।