सुनसरी । सुनसरीको धरान-२० चिमफुले खोलामा गोली चलाएर प्रहरीले दुई सय २५ किलो गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार-पसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति तीन राउन्ड हवाइ फायर गरेर गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोजेको थियो । तर उनीहरू प्रहरीलाई देखेर भागेका थिए ।
उनीहरू जङ्गलतर्फ भागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरेको छ । फरार भएका अन्यको खोजी भइरहेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।