विराटनगर । मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले सञ्चालन गर्दै आएको न्यु पाथीभरा ज्वेलर्समा चोरी भएको हो ।
प्रहरीले चोरी भएको जानकारी आज बिहान १० बजेतिर पाएको थियो । प्रहरीले आइतबार राति ज्वेलर्समा जोरी भएको अनुमान गरेको छ । मोरङ प्रहरीका अनुसार २५ किलो चाँदीका गहना, दुई तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चोरी भएको छ ।
‘रातिको समयमा चोरी भएको हो । भित्तो पनि फोडेको रहेछ । सिसिटिभीको डिभाइस पनि चोरले लिएर गएको छ’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले संगालोखबरसँग भने, ‘चाँदीको गहना धेरै चोरी भएको रहेछ । सुन दुई तोला जति मात्रै लगेको भन्ने बुझिएको छ ।’
उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए । उर्लाबारीमा गत माघ २१ गते बिहानका राति मोबाइल पसलमा चोरी भएको थियो । उर्लाबारी नगरपालिका-५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वर्ल्ड नामक पसलबाट तीन करोड रुपैयाँभन्दा बढीको मोबाइल चोरी भएको थियो । उक्त विषयमा पनि अनुसन्धान भइरहेको र चोरीमा संलग्नको पहिचान हुन लागेको डीएसपी जोशीले जानकारी दिए ।