कैलाली । थार किर्ना, मुसा तथा उडुस जस्ता माइटहरु जातिबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगको विरामी कैलालीमा बढ्दै गएका छन् ।
गर्मी बढेसँगै स्क्रब टाइफसको समस्या बढी देखा परेको सेती अञ्चल अस्पताल धनगढीले जानकारी दिएको छ । सो अस्पतालमा चालू आर्थिक वर्षको हालसम्म उपचारको क्रममा स्क्रब टाइफसबाट पीडित एक जना विरामीको मृत्यु भएको छ भने ३४ जना विरामी उपचारका लागि अस्पताल पुगेका छन् ।
हाल पाँच जना विरामीको अस्पतालमा उपचार भइरहेको मेडिकल वार्डका इन्चार्ज यशोदा ढकालले जानकारी दिइन । उनले गतवर्ष जस्तै यो वर्षपनि स्क्रब टाइफसको विरामी बढी देखा परेका बताइन ।
कैलालीका विभिन्न ठाउँबाट २० जना र अन्य पहाडी जिल्लाबाट १४ जना उपचारका लागि आएको अस्पतालले जानकारी दिएको छ । सेती अञ्चल अस्पतालका जनरल फिजिसियन डा. शेरबहादुर कमरले मानिसलाई स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने जस्ता लक्षण देखिने गरेको बताए । उनले रोगको समयमै उपचार नगराएमा कलेजो, मृगौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलेर विरामीको मृत्यु समेत हुन सक्ने बताए ।
डा. कमरले यो रोगको किटाणु सार्ने मुसा र उडुस जस्ता माइटहरुको सम्पर्कबाट टाढा रहनु नै स्क्रब टाइफसबाट बच्ने सबैभन्दा उत्तम उपाय रहेको उल्लेख बताए ।
नेपालमा मुसाबाट यो रोग मानिसमा बढी सरेको पाइएकाले घरभित्र र वरपरको वातावरणलाई सफा राख्नु पर्ने चिकित्सकले सुझाएका छन् ।
गतवर्ष सेती अञ्चल अस्पतालमा यो रोगका १ सय ५० जना विरामी उपचारका लागि आएका थिए । जसमध्ये उपचारको क्रममा चार जनाको मृत्यु भएको थियो । २०७१ सालबाट यो क्षेत्रमा स्क्रब टाइफसको विरामी देखा पर्न थालेका हुन् ।