पत्रपत्रिका खबर

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् ।

Advertisement

सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउवा अघि बढेका हुन् । सोही रणनीतिअनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलसँगका हरेजसो बैठकमा आफ्नो ‘मुभ’ देखाउँदै आइरहेका छन् ।

‘पास’ हुने आधार खोज्दै प्रधानमन्त्री

शुक्रबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एमसीसी पास हुने विश्वस्त आधारबिना गठबन्धन कायम गरेर अघि बढ्न नसकिने जवाफ दिएका थिए । प्रचण्ड र नेपालसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा शुक्रबार छुट्टाछुट्टै वार्ता गरेका थिए ।

देउवा साँझ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टीका महामन्त्री गगन थापालाई लिएर एमाले अध्यक्ष ओलीसँगको वार्ताका लागि बालकोट पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी प्रस्तावमाथि संसद्मा छलफल हुँदै गर्दा आफ्ना सांसदहरू बैठक बहिष्कार गरेर निस्कने र एमसीसी पास गर्न सरकारलाई त्यसले सहयोग पुग्ने प्रधानमन्त्रीसँग भनेका थिए ।

तर, प्रधानमन्त्री देउवा भने एमसीसीलाई अनुमोदन गर्न माओवादी केन्द्र र नेकपा एसको सहयोग नभए विकल्पमा जाने भन्दै विश्वस्त आधारबिना गठबन्धन जोगाउन नसकिने जवाफ दुवै दलका अध्यक्षलाई दिएका हुन् । दिनभरजसो सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा छलफलबाट एमसीसी पास गर्ने विश्वस्त आधार गठबन्धनमा नदेखिएको निष्कर्षसहित प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षसँगको संवादका लागि बालकोट पुगेका हुन् । कांग्रेस नेताहरूले गठबन्धनका नेताहरूसँगको वार्तापछि देउवा बालकोट जानुले गठबन्धनमा मध्यमार्गी बाटो खोज्ने प्रयास सफल नभएको बताउँदै आएका छन् । पछिल्लो समय देउवाले एमालेसँग निरन्तर संवाद गरिरहेका छन् ।

शुक्रबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी’bout पार्टीको पूर्ववत धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार गठबन्धन पनि जोगाउने र एमसीसीलाई पनि पास गर्नेगरी गठबन्धन लागेको बताइएको थियो । ओलीसँगको भेटमा भने देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी थिए । एमालेका तर्फबाट भने महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

यसअघि बिहीबार दिउँसो संसद् भवनामा देउवा र ओलीबीच छलफल भएको थियो । त्यसपछि बिहीबार साँझ नै बालुवाटारमा ओली र देउवाबीच छलफल भएको थियो ।

माओवादी केन्द्र र नेकपा एस लचक
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा बिहीबार साँझसम्म असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्न सहज हुनेगरी बीचको बाटो रोज्ने तयारी गरेका छन् । एमसीसीप्रतिको असन्तुष्टिका कारण एकातिर सत्ता गठबन्धन भत्किने, अर्कातिर सरकारबाट फिर्ता हुनुपर्ने र आगामी निर्वाचनमा एक्लै लड्दा हारिने डरले माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति लचक बन्ने सम्भावना बढ्दै गएको छ ।

ती दुवै दलका शुक्रबार भएका आन्तरिक बैठक र छलफलमा सरकारमा मन्त्री रहेका नेताहरूले ‘चुनाव’को अवस्थालाई विश्लेषण गरेर पार्टीले निर्णय लिनुपर्ने भनेका थिए । ‘न गठबन्धन जोगिन्छ, न सरकारमा नै रहन सकिन्छ चुनावमा जित्ने अवस्था पनि नबन्न सक्छ, एमसीसीमा बीचको बाटोबाट अघि बढौं भन्ने विषयमा बैठकमा धारणा आयो, अझै थप छलफल पछि कसरी अघि बढ्ने भन्ने निर्णय हुन्छ,’ नेकपा माओवादी केन्द्रका एक नेताले राजधानीसँग भने ।

नेकपा एसको बैठकमा पनि सोही आशय मन्त्रीहरूले राख्दै आएका छन् । नेकपा एसमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ खुलेरै एमसीसीको पक्षमा लबिङमा छन् । माओवादी केन्द्रका नेताहरू आन्तरिक बैठक सकेर सोही नीतिसहित शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

सो क्रममा उनीहरूले एमसीसीका विषयमा संसद्मा छलफल हुँदै गर्दा आफूहरू बैठक बहिष्कार गरेर बाहिर निस्कने वा मतदानका बेला अनुपस्थित हुने र एमसीसी पारित गर्न सहयोग गर्ने गरी वातावरण बनाइदिने भनेका थिए । भेटमा सहभागी एक कांग्रेस नेताले एमसीसीप्रति माओवादी केन्द्रको धारणा बदलिएको अनुमान गर्न सकिने जानकारी दिए ।

‘उहाँहरू अडानबाट टसमस भएको अवस्था थिएन, अहिले चुनावमा हारिने सबैभन्दा ठूलो डर देखिएको छ, गठबन्धन पनि नरहने सरकारमा पनि बस्न नमिल्ने बाध्यताका कारण माओवादी केन्द्र र नेकपा एसको अघिल्लो दिनको धारणा शुक्रबार आइपुग्दा केही बदलिएको अनुमान गर्न सकिन्छ,’ ती कांग्रेस नेताले भने ।

अघिल्लो दिन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धनअघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफल गरेका थिए । एमालेसँगको संवाद सकारात्मक रहेको भनिएको थियो । शुक्रबार बसेको माओवादी केन्द्रको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो ।

एमालेका दुई सर्त
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रस्ट रूपमा धारणा र निर्णय दिन तयार भएको छ । तर, उसले सभामुखको विकल्प र १४ सांसदमाथिको कारबाहीको विषयमा भने सरकारसँग सर्त कायमै राखेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार साँझ भेटवार्ता भएको थियो । सो भेटवार्तापछि एमाले आफ्ना माग पूरा गर्न सरकार तयार भए एमसीसीमा सकारात्मक बन्दै स्पष्ट धारणा र निर्णय दिन तयार रहेको भनेको हो ।

भेटवार्तामा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले एमालेले विगतदेखि नै राख्दै आएका सभामुखको राजीनामाको माग र १४ सांसदमाथिको कारबाहीका विषयमा सरकारको ठोस धारणा मागेको जानकारी दिए । उनले संसद्मा एमालेलाई छलफल गर्ने वातावरणबन्दा एमसीसीमा स्पष्ट धारणा र निर्णय दिने बताएका हुन् ।

‘एमाले एमसीसीमा अनिर्णीत रहँदैन, आफ्नो निर्णय र स्पष्ट दिशा दिन्छ, त्यसका लागि सदनमा छलफल गर्ने वातावरण चाहिन्छ, १४ सांसदमाथिको कारबाही र सभामुखको विषयमा सरकारसँग हामीले ठोस जवाफ मागेका छौं,’ प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको वार्तापछि एमाले नेता ज्ञवालीले भने ।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले संसद् सुचारु गर्न र एमसीसीलाई सबैको सहमतिमा पारित गर्न एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेको बताए ।

‘प्रधानमन्त्रीले अधिकतम सहमतिका साथ एमसीसीलाई संसद्बाट अनुमोदन गरेर जाऔं भन्ने प्रस्ताव गर्नुभयो, एमाले अध्यक्ष ओलीले हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण तयार गर्नुस्, त्यसपछि हामी आफ्नो विचार राख्छौं, त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्ने जवाफ दिनुभयो,’ मन्त्री कार्कीले भने । भेटवार्ताका क्रममा ओलीले एमाले र कांग्रेस धेरै ठूलो संघर्ष गरेर लोकतन्त्रको स्थापनामा अघि बढेकाले लोकतान्त्रको यात्रामा पनि सँगै सहयात्रा हुनुपर्ने बताएको कार्कीले जानकारी दिए ।

विगत केही दिनयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरूबीच एमसीसीको केन्द्रबिन्दुमा रहेर भेटवार्ता हुँदै आएको छ । – यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!