विजय सन्तोषी राई

लोकतन्त्र तथा प्रजातन्त्रको पक्षमा निरङ्कुस पंञ्चायती व्यवस्थाको विरुद्ध शसस्त्र संर्घष गर्दा पक्राउ परी फाँसी दिएका पूर्वका दुई चम्किला तारा भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापालाई राज्यले बिर्सिएको छ । ती महान दुई योद्धालाई शत्रुले जीवनभर चिने तर आफ्नै पार्टी नेपाली कांग्रेस र सँगै जेल बिताएका मित्रहरुले राम्रो ढंगले चिनेनन् बरु उल्टै अहिले बिर्सिएका छन् ।

Advertisement

प्रजातन्त्र स्थापनका लागि यूवा अवस्थादेखिनै नेपाली कांग्रेसमा क्रियाशिल रहनु भएका भीम नारायण श्रेष्ठलाई २०३० सालमा विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको अभियोगमा र नेपाली सेनाको जागिरबाट राजीनामा दिएर नेपाली कांग्रेसमा सक्रिय भई नेपाली कांग्रेसको निर्देशनमा पूर्व क्षेत्रको कमाण्डरको जिम्मेवारी दिई पूर्व क्षेत्र कब्जा गर्ने क्रममा कप्तान यज्ञ बहादुर थापा ओखलढुंगाको टिमुरवोटे काण्डमा घाईते भई पक्राउ गरेपछि उहाँहरु दुबैलाई लामो समयसम्मको कठोर जेल यातनापछि फाँसीको सजाय दिदै २०३५ माघ २६ गते गोली हानी हत्या गरिएको थियो ।

राजनैतिक स्वतन्त्रताका निम्ति बलिदान दिने सहीद भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापालाई राज्यले र उहाँहरुसँगै कठोर जेल जीवन बिताएका नेताहरुले यतिबेला बिर्सदा उहाँहरुको योगदानको अवमूल्यन भएको छ । आफ्नो लागि होईन अरुका लागि बलिदान दिने लुटिएका पूर्वका तारा (भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापा)लाई राज्यले बिर्सिएको र वेवास्था गरेकोले उहाँहरुलाई माघ २६ गते गोली हानी हत्या गरिएको स्मृतीको दिन परेकाले सबैले स्मरण गर्दै सम्मान गरौं । उहाँहरुसँगै कठोर जेल जीवन बिताउनु भएका केपी ओली लगायतका नेताहरु प्रधानमन्त्रीदेखि मन्त्रीहरु हुनुभयो । अन्य दर्जनौ नेपाली कांग्रेसका साथीहरु मन्त्रि भईसक्नु भएको छ र अहिले पनि हुनुहुन्छ भने धेरै वरिष्ठ नेता हुनुहुन्छ तर पनि उहाँहरुको योगदानलाई राज्यले सम्मान गरेन उल्टै बिर्सदै गएको छ ।

फाँसीको सजाय दिनका लागि उहाँहरुलाई काठमाण्डौस्थित सेन्टर जेलको (गोलघर)बाट बाहिर निकाल्दै गर्दा जेलमासँगै लामो समयसम्म बसेका साथीहरु राधाकृष्ण मैनाली, केपी शर्मा ओली लगायतका अन्य नेता साथीहरुलाई भीम नारायण श्रेष्ठले ‘जीवन रहे भेट हुन्छ । मिलेर संर्घष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाँचेकाले क्रान्ति गर्नु मेरो यही खबर सुनाई दिनु’ र कप्तान यज्ञ वहादुर थापाले ‘पापीहरुसँग झुकेर मर्नभन्दा ठाडै गोली खाएर मरिन्छ । एक दिन रगतको मूल्य मिल्ला जनतालाई भन्ने सन्देश सबैलाई पुर्याइदिनु’ भनेर आग्रह गर्नु भएको पूर्व मन्त्री राधाकृष्ण मैनालीले ‘लुटिएका दुई थुँगा फूल’ पस्तकमा उल्लेख गर्नु भएको छ । उहाँहरुको उक्त भनाई पढ्दा होस् वा सुन्दाहोस् जो कोहीलाई अहिले पनि छाती फुलेर आउँछ अनि रगत तातेर आउँछ ।

नेपाली कांग्रेसमा सक्रिय रहनु भएका भीम नारायण श्रेष्ठ २०२९ साल फाल्गुण २९ अन्तिम तिर भाईको विवाहको सामान किन्न फारवेसगञ्ज गएको बखत कप्तान यज्ञ बहादुर थापाले कागजले बेरेको एउटा पोको दिदै यो सुरक्षित रुपमा लगेर विराटनगरमा धनकुटाका रामकृष्ण श्रेष्ठलाई दिनु भनेर हेण्डग्रिनेट दिनु भएको थियो । उक्त ग्रिनेट भीम नारायण श्रेष्ठले सकुशल ल्याएर रामकृष्ण श्रेष्ठलाई दिनुभयो । रामकृष्णले पनि उक्त ग्रिनेट अर्कै साथीले भोलीपल्टै लगेको भीम नारायणलाई बताए फाल्गुण ३० गते राजा सवारी भएको हेर्न समिक्षालयबाट राजाको सवारी जुटकेन्द्रतिर लागेकोले उहाँहरु दुबै सवारी हेर्न विराटनगरको अस्पताल हुँदै अगाडि जाँदै गर्दा एक्कासी बम विस्फोटन भयो । त्यसमा एक जनाको मृत्यु भयो अन्य दर्जनौ घाईते भए उहाँहरु पनि दुवै गंभीर घाईते हुनुभयो । उपचारका क्रममा राती रामकृण श्रेष्ठको निधन भयो । उपचारकै क्रममा तीन दिनपछि अस्पतालबाटै भीमनारायण श्रेष्ठलाई राजालाई बम प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गर्यो । चार महिनाको हिरासतबास पछि उहाँलाई सो बमकाण्डको मुख्य अभियुक्तको रुपमा जेल चलन गरियो । २०३१ साल असारमा उहाँलाई काठमाण्डौ स्थित सेन्ट्रल जेलको गोलघरमा राखियो ।

२०२२/०२३ सालतिर कप्तान यज्ञ बहादुर थापाले शाही सेनाबाट राजीनामा गरेपछि मोरङ्गको रमाईले झोडामा सुकुम्वासी टोली बनाई वस्ती बसाल्न थाल्नु भयो । त्यहाँ पनि बन कब्जा गरी फडानी गरेको भन्दै २०२७ साल बैशाख/जेष्ठमा सबैतिरबाट सेनाले घेरेर गोली चलाएपछि धेरै सुकुम्वासीहरुको हत्या भयो । त्यसपछि कप्तान थापा लुक्दै, भाग्दै भारत जानु भयो र त्यहाँ उहाँ नेपाली कांग्रेसका वीपी लगायतका नेताहरुसँग सम्पर्क भयो । नेपाली कांग्रेसले त्यसबेला तेस्रो पटक हतियार उठाएर आन्दोलन गर्ने तयारी गरिरहेको थियो । वीपी कोईरालाको नेतृत्वमा हतियारसहितको आन्दोलन गर्ने क्रममा पूर्वमा कप्तान यज्ञ बहादुर थापा कमाण्डर भएर हतियार उठाइएको थियो । हतियारसहितको ३५ जना नेपालीहरुको सशस्त्र टोली लिएर बनारसबाट पूर्व मधुवनी क्षेत्रबाट कमला नदीदेखि तराई हुदै अघि बढ्ने योजनाका साथ यज्ञ बहादुर थापा नेपाल प्रवेश गर्नुभयो । उहाँको टोली सिन्धुली र उदयपुरबाट ओखलढुंगा प्रवेश गर्यो ।

तत्कालिन सरकारले थापाको टोलीलाई रोक्न पठाएको सेनाहरुको टोली पनि असफल भएपछि सरकार आत्तिएको थियो । कप्तान थापाको टोली सोलु बजारमा रहेको सेनाको टोलीलाई आत्मसर्पण गर्न लगाउने अनि स्थानीय सरकार गठन गर्ने र त्यस क्षेत्रलाई सरकारी सेनाबाट अलग बनाउने योजनामा थियो । सरकारले पनि सम्पूर्ण शक्तिका साथ सेना परिचालन गरेपछि थापाको टोली दलवलसहित टिमुरेको जंगलतर्फ जान बाध्य भयो । काठमाडौंबाट सोलु र ओखलढुंगामा हेलिकप्टरबाट सेना उता¥यो । त्यसपछि स्थिति जटिल भयो । थापाको टोलीलाई चारैतिरबाट घेरा हाली अत्याधुनिक हतियारले र हेलिकप्टरबाटसमेत गोलाबारी गरेको थियो । जंगलको ओढारमा बसेका थापाको टोलीका प्रजालाल राईसहित धेरैको मृत्यु भयो । उहाँ भने भाग्न सफल हुनुभयो । तर उहाँको पहिलेको गाउँमा लुक्ने क्रममा थापा पुरोहितको घरमा खाना खाएर उसैको वारीको परालको माचभित्र सुतिरहेको अवस्थामा खोजतसाल गर्दा उहाँ पक्राउ पर्नुभयोे । उहाँलाई त्यसपछि अण्डासार गर्दै काठमाडौं सेन्टर जेल चलान गरियो ।

कांग्रेसले पहिलो पटक २००७ सालमा पार्टी सभापती मातृका प्रसाद कोईरालाको नेतृत्वमा हतियार उठाएर आन्दोलन गरेर दिल्ली सम्झौता गरी राणा शासनको समाप्त गरी प्रजातन्त्र स्थापना गरेको थियो । दोस्रो पटक २०१७ सालको राजाको कू–पछि जनरत सुवर्ण शमसरेको नेतृत्वमा गरिएको थियो । तर त्यो असफल भयो । तेस्रो पटक कप्तान यज्ञ बहादुर थापाको कमाण्डमा पूर्वमा हतियार उठाईएको हो ।

प्रजातन्त्रका शाहसी योद्धा भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापालाई फाँसीको सरकारी मागलाई विशेष अदालतले अनुमोदन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुबै जनाले क्षेत्रिय अदालत धनकुटामा अपील गर्नुभयो । तर क्षेत्रिय आदालतले पनि शुरुकै सदर गरेपछि उहाँहरुले सर्वोच्च अदालतमा मृत्यु ढण्ड खारेजीको माग गर्नुभयो । सर्वोच्चले पनि शुरुकै निर्णय सदर गर्ने फैसला ग¥यो । अब उहाँहरुलाई फासी दिने निश्चित भयो । तर वीपी कोईराला मेलमिलापको निति लिएर स्वदेश फर्केकोले उहाँहरुको फाँसीको सजाय कार्यान्वयन नहुने होकी भन्ने आशा सबैले गरेका थिए । उहाँहरुमा पनि बाँच्ने आश थियो । केही राजबन्दीहरु रिहासमेत भए । केहीले आममाफीसमेत पाए । थापा र श्रेष्ठले पार्टीमासमेत खबरहरु पठाए । पार्टीका नेताहरुले पनि पहल गरेकाले पार्टीको पहल र समन्वयमा राजाबाट आममाफी हुन्छ भन्ने विश्वास लिएको थियो तर भएन । भीम नारायण श्रेष्ठलाई र यज्ञ बहादुर थापालाई सर्वोच्च अदालतले फाँसीको सजाय गरेपछि उहाँहरुका साथीहरुले राजासमक्ष माफी पत्र लेख्न आग्रह गर्नु भएको थियो तर उहाँहरु मान्नु भएन ।
त्यसपछि काठमाडौंमा उहाँहरुलाई राखिएको जेलबाट सम्पूर्ण सामाग्रीहरुका साथ हतकडी लगाएर सशस्त्र सैनिकहरुका साथ २०३५ माघ २४ विहान उहाँहरुलाई निकालेर त्यहाँबाट सैनिक हेडक्वाटर लगि राजाको सवारी पोखरामा भएकाले पोखरा लैजाने भनेछन् । त्यहाँ राजासँग माफ माग्नु पर्ने, गल्ती स्वीकार गर्नु पर्ने प्रस्ताव राखेपछि उहाँहरुले गल्ती भएको कुरा स्वीकार गर्न मान्नु भएन । त्यसपछि उहाँहरुलाई हतकडीसहित राती आ–आफ्ना सामान भएको बन्द गाडीमा राखेर पोखरातर्फ नलगेर नौविसेबाट हेटौडातिर लगेपछि उहाँहरुले किन यता भनेपछि चितवनबाट जाने सैनिकहरुले भनेछन् । हेटौडा बजारबाट दक्षिणतर्फ लगेर गाडीबाट ओरालेर कप्तान यज्ञ बहादुर थापालाई पश्चिमतर्फ लगेर मृत्यु पूर्जीमा पजापत्र लगाइयो अनी गोली हानी फाँसी दिइएको थियो । फाँसीमा चढ्नु अघि कप्तान यज्ञ बहादुर थापाले ‘मलाई मार्नु नै थियो भने खुला प्रचार गरेर मार्नु पथ्यो भन्दै नेताहरुलाई माफी कार्यकताहरुलाई फाँसी यो कुन न्यायसंगत कुरा हो’ भनी प्रश्न गर्नु भएको उहाँको जीवनीमा प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ । यसैगरी भीम नारायण श्रेष्ठलाई पनि चितवनबाट पूर्वतिर ल्याएर कोशी टप्पुमा लगेर माघ २६ गोली हानी फाँसी दिईएको उहाँका कान्छा छोरा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठ भन्नुहुन्छ ।

फाँसीको सजाय दिँदा २४ घण्टा अगाडि मृत्युपुर्जी बुझाईन्छ अनि अन्तिम इच्छा सोधिन्छ र आफ्ना आफन्तसँग अन्तिम भेट गराईन्छ । त्यसपछि खुला प्रचारबाट मृत्युदण्ड दिईने प्रचलन थियो । तर प्रजातन्त्रका साहसीक योद्धाहरु भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापालाई फाँसीको सजाय दिँदा त्यसो नगरिकन तत्कालिन तानाशाही पञ्चायती सरकारले डराएर कारयतापूर्ण ढंगले जंगलमा सुटुक्क लगेर हत्या गर्यो ।

राजासँग माफी माग्नको साट्टो प्रजातन्त्रको निम्ति हाँसी–हाँसी फाँसीमा चढ्नु भएका श्रेष्ठ र थापा प्रजातन्त्रका लागि चम्किलो तारा अहिले पनि नेपाली आकाशमा रहनु भएको छ । संगै कठोर जेल जीवन बिताउनु भएका सहिद भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापा मृत्युदण्डको सजाय भएर फाँसीमा चढेर अमरसहिद हुदै हामीबीच हुनुहुन्न भने केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा थापा र श्रेष्ठलाई २०७२ फाल्गुणमा सहिद घोषणा गरिएको थियो । जेलमासँगै बस्दा थापा र श्रेष्ठले असाध्यै माया गर्ने र मिल्ने साथी केपी ओली लगायतका नेताहरु प्रधानमन्त्री, मन्त्रीहरु हुनु भयो र अहिले पनि उहाँहरुकै साथीहरु मन्त्री हुनुहुन्छ । राज्य स्तरबाट अहिलेसम्म उहाँहरुको नाममा कुनै प्रतिष्ठान बनाईएको छैन । कुनै कार्यहरु पनि गरिएको छैन र सम्मान दिने काम भएको छैन । सहिद घोषणा गर्नवाहेक उहाँहरको परिवारलाई पनि सम्मान गरिएको छैन । उहाँहरुलको योगदानलाई सम्मान गर्ने कार्य पनि भएको छैन । अब उहाँहरु र उहाँहरु जस्तै नेपाल र नेपालीका लागि जीवन उत्र्सग गर्नु भएका शहिदहरुले देखाएको बाटोमा सबै हिड्दै उहाँहरुप्रति सम्मान गर्न आजको आवश्यकता हो ।

प्रजातन्त्रका लागि जीवनदान दिएर पनि राज्यले बिर्सिएका पूर्वी नेपालका दुई चम्किला तारा कप्तान यज्ञ बहादुर थापा र भीम नारायण श्रेष्ठ सधै नेपाली आकाशमा चम्किरहनु हुनेछ ।

(लेखक–धनकुटा शहिद स्मृती प्रतिष्ठानका महासचिव, धनकुटा कांग्रेस सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुन् ।)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!