संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई संघीय सरकारले बल प्रदान गर्नुपर्ने बताएका छन् । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले संघीय सरकारसमेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

Advertisement

उनले कोभिडको तेस्रो लहरलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पक्षमा रहेको उल्लेख गरे । आर्थिक गतिविधिसमेतलाई क्रियाशील राखी कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा थियो । सो अवसरमा बोल्दै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अहिलेको अवस्थामा सकेसम्म भीडभाड नगर्न अपिल गर्दै भीडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत हुने बताए ।

उनले कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले बताए ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश नं. १ का जनसंख्या कम भएका पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । तराईकै जिल्लामा खोप लगाउनेको संख्या कम रहेकाले अब प्रभावकारी योजनामार्फत खोप लगाउने लक्ष्य पूरा गरिने बताए ।

यसैबीच सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश नं. १ मा कोभिड १९ को वर्तमान अवस्थाका बारेमा जानकारी दिए । उनका अनुसार माघ १ गतेसम्म प्रदेश नं. १ मा संक्रमितको संख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको छ । प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गराएका छन् । अहिले प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या एक हजार तीन सय ९७ छ । कोभिडका कारण प्रदेश नं. १ मा दुई हजार एक सय ९६ जनाको मृत्यु भएको छ । प्रदेश नं.१ मा विभिन्न खोप गरी पहिलो डोज लगाउनेको संख्या २६ लाख र दोस्रो डोजसहित पूर्ण खोप लगाउनेको संख्या १७ लाख ५० हजार छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश नं.१ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सेवा क्षेत्रका प्रमुखहरू, प्रदेशस्तरीय मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!