- पत्रपत्रिका खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो ।

Advertisement

माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्काे विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद नरहे पनि महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषालले दाबी नछाडेपछि निर्वाचनको आवाज पल्लाभारी भएको हो । यी तीनमध्ये शर्मा र पुन बलियो देखिए पनि अध्यक्ष दाहालले कसलाई सिफारिस गर्छन्, यकिन छैन ।

माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधन प्रस्तावमा विभिन्न २५ समूहमा समूहगत छलफल गरेर बिहीबार प्रस्तुति सकिएको र शुक्रबार अध्यक्ष दाहालले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनले अध्यक्ष दाहालले जवाफ दिइसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने पनि बताए ।

अब माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ । जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी हुनेछ । बन्दसत्रमा समूह १३ का टोली नेता गोपाल शर्माले महाधिवेशन हलबाटै पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरू निर्वाचित हुनुपर्ने सुझाव पेस गरेका छन् ।

‘हालै सम्पन्न विभिन्न जनवर्गीय संगठनहरूमा नेतृत्व र पदाधिकारीविहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन,’ शर्माले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहसमेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

लेखनाथ न्यौपानेका १० बुँदे फरक मत
माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले बन्दसत्रमा अध्यक्ष दाहालको वैचारिक राजनीतिक प्रतिवेदनमाथि १० बुँदे फरक मत राखेका छन् । प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा न्यौपानेले दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरकमत राखेका हुन् । समूहगत छलफलको निष्कर्ष राख्दै उपत्यका विशेष प्रदेशका नेता जगत सिंखडाले बन्दसत्रमा त्यसको जानकारी गराएका छन् ।

न्यौपानेले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तरविरोध, वर्ग सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबाट ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरेका छन् । पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हाबी रहेको भन्दै उनले पार्टी तीव्ररूपमा दक्षिणपन्थी दिशामा अगाडि बढिरहेकाले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने जनाएका छन् ।

शान्ति प्रक्रियामा आएपछि तीनपटक पार्टीले सरकारको नेतृत्व गरेको, पटकपटक पार्टी सरकारमा सहभागी भएको, एउटै पात्र पटकौं मन्त्री बनेको भए पनि जनताले अनुभूत हुनेगरी गुणात्मक काम हुन नसकेको भन्दै नेता न्यौपानेले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न मागसमेत जोडदार रूपमा उठाएका छन् ।

यस्तै, उनले मुख्य समस्या अध्यक्ष दाहालमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको टिप्पणी गर्दै भनेका छन्, ‘मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र ।’

न्यौपानले एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय सही नभएको, एमालेसँग चुनावी तालमेल, कार्यगत एकता सही भए पनि ‘छापामार शैली’मा पार्टी एकता गर्नु सैद्धान्तिक र प्रक्रियागत रूपमा गलत भएको टिप्पणी गरेका छन् । जबकि राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले एमालेसँगको एकता सही भएको उल्लेख गरेका छन् ।

उनले तत्कालीन नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रको उदाहरण दिँदै दाहालको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको उल्लेख गरेका छन् । ‘हामीले ओलीभित्रको ‘बा’ प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको बा प्रवृत्ति देखिएको छ । तपाईं आफै स–शरीर उपस्थित भएको ठाउँमा तपाईका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो ?’ न्यौपानेले प्रश्न गरेका छन् ।

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनले वाम बाटो नसमातेको उल्लेख गर्दै उनले दक्षिणपन्थी संशोधनवादी दिशामा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ । उहिल्यै १९५६ मा बदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो,’ उनले भनेका छन् ।

तत्काल वा कार्यनीतिक रूपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अवलम्बन गर्ने हदसम्म ठीक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउने दाबी न्यौपानेको छ । – यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!