- संजिता धमला

म संर्घष र शैक्षिक उपलब्धिलाई सँगसँगै लाने प्रयत्न गरिरहेको एक युवा प्रतिनिधी पात्र हुँ । समाजशास्त्रको एक विद्यार्थी भएको नाताले शिक्षकले नारीवादका विषयमा अध्ययन गराइरहँदा वा साथीहरुबीच छलफल गरिरहँदा महिला कसरी दोस्रो दर्जाको रुपमा प्रस्तुत भइरहेका छन् ? भन्ने जिज्ञासाको उचाई चुलिएको थियो ।

म र मेरो साथी कार्यलयको काम सकेर कटमिरो साँझमा घर फकिँदै गर्दा बाटोमा एक गर्भवती महिला छट्पटिँदै गरेको अवस्थामा देखेर हामीले उहाँलाई तत्कालै अटो चढाएर अस्पतालसम्म लग्यौँ । त्यसपछि उहाँको आफन्तहरुलाई सम्पर्क गर्यौं । केहीबेरमा उहाँले छोरीलाई जन्म दिनुभयो । नभन्दै आफन्त पनि आइपुग्नु भयो । हामी त्यहाँबाट बिदा हुँदै गर्दा आफन्तहरुले धन्यवाद दिनुभयो ।

घर पुग्न अबेर भइसकेकाले म साथीकैमा जाने निधो गरें । हामी घर पुग्दा हुन पनि रातको नौं बजिसकेको थियो । घर पुग्ने बित्तिकै आमाले साथीलाई ठूलो स्वरमा तथानाम गाली गर्नु थाल्नु भयो । के हो तेरो पारा छोरी मान्छे भएर घर आउने समय यही हो ? समयमा घर आउनु पर्दैन ? त्यसपछि उनले भनिन् के राती चै समय नै हैन ? राती हिड्ने छोरी मान्छे सबै गलत हुन्छन् र ?

मुखमुखेै लाग्छेस भन्दै आमाले फेरी झपार्नुभयो । छरछिमेकमा नानाथरी कुरा काट्नु थालिसके । तेरो छोरीको चालामाला ठिक छैन, पोइल गई होली भन्छन् । काम थियो त्यसैले ढिला भयो कहिले काँही त ढिला भइहाल्छनी आमा गाली नगर्नु नी भन्दै साथी घरभित्र पसिन् । फेरी आमाले ठूलो स्वरमा भन्नु भयो के काम थियो तेरो ? आधी रातसम्म कस्तो काम हुन्छ ? भन्दै अदालतमा कुनै अपराधिलाई न्यायधिशले प्रश्न तेर्साए जसरी उन माथि घरका सबै जना जाईलागे । छिमेकीहरुले पनि पर्दा खोलेर खुब चासो दिएर चियाउँदै थिए ।

मलाई चै साह्रै नमिठो लागिरहेको थियो । अनी म एकछिन सोचमग्न भए । २१ औँ शताब्दिमा पनि आधुनिकताको खोल ओडी पीतृसत्तात्मक सोच बोकेकाहरुले गर्दा परिवारमा र छिमेकमा नै लैङ्गिक विभेद चरम रहेछ भन्ने लाग्यो ।

छोरी घर ढिला आउँदैमा गलत काम गरेको अथवा केटा साथीसँग हिँड्दैमा पोइल गएको हुन्छ र ? घर परिवारका सदस्यहरुले छोरी घर ढिला आउँदा बिरामी पो भइकी ? कतै दुर्घटनामा पो परिन कि ? कसैले ऊ माथी दुव्र्यवहारको गर्यो कि ? आदी इत्यादी प्रश्नहरु कहिँकतै किन कसैले गर्देनन् गरिहाले भने पनि अपवादमा औंलामा गन्न सकिन्छ ।

पत्रकारिता गर्ने क्रममा मैले स्थानीय खबर हाम्रो कोशी आवाजमा काम गर्दा गर्दै कपुरी न्युज डटकममा सरेँ । कपुरीबाट ब्लाष्टखबर डटकममा जम्पिङ गरेँ । एकजना आन्टिले मलाई तिमी पोइला गएछौ नी भन्नु भयो । म तिन छक्क परेर सोधेँ कहिले गए लौ पोइल ? उहाँले भन्नु भयो एउटा संस्था छोडेर अर्कोमा जानु पनि पोइल जानु त होनी । उहाँले भन्नु भयो छोरी मान्छे भएर दुनियाँ ठाउँमा सर्दै हिँड्दा पछि नराम्रो हुँदैन । स्थानीय मिडियामा मात्र सीमित भएर हुँदैन नी अनुभव लिदै क्षमता अभिवृद्धी गर्नुका लागि राष्ट्रिय स्तरका मिडियामा जानु पाउँनु त अवसर होनी मैले भनेँ । म अहिले कारोबार राष्ट्रिय दैनिक पत्रिकामा सुनसरी संवाददाता छु आन्टि यसलाई पोइल गएको नभनी दिनु है हाम्रो समाजमा पोइल गएको अर्थ अर्को लाग्छ । म पोइल गएको छैन है !

तर, उहाँले प्रश्न गर्दा किन संस्था किन छाडेको कतै तिमी कार्यालयमा काम गर्ने क्रममा तिमीमाथि हिंसा भयो की ? तलब पाएनौ की, तिम्रो जोखिम बहन भएन की, परिवारबाट असहयोग भयोकी ? राजनीनिक हस्तक्षेत्र भयो की वा तिम्रो इच्छा शक्ति र मिडियाको तादम्यता मिलेनकी यस्ता प्रश्न किन गर्नु भएन ? आखिर संस्था छाड्नुलाई पोइलमा किन जोड्नु भयो त्यो बेलाको उहाँको चेतनाको स्तर र प्रश्नशैलीको सोचप्रति दया जागेर आइरहेको छ ।

आफू सही काममा हिँडेपनि समाजले हेर्ने नजर अझ परिवर्तन भएको छैन भन्ने कुरालाई माथिकै उदाहरणले प्रष्ट पार्छ । यद्यपी यस्ता प्रश्न महिलाद्वारा महिलालाई नै गरिन्छन् । छिमेकीको छोरी घर ढिला आउँदा पल्लो घरका छिमेकीलाई किन टाउको दुखाईको विषय बनेको होला जसमा फेरी महिलाको खोजिनिन्दा महिलाबाट नै मौलाएको छ ।

यस्तो मेरो साथीलाई मात्रै हैन मलाई पनि कयौ पटक भएको छ भने मेरा साथीहरु पनि यसबाट अछुतो छैनन् भन्दा फरक नपर्ला । मलाई पनि पत्रकारिता गरेर घर फर्कने क्रममा ढिला हुँदा वा रातीको समयमा घरबाट बजारतिर जाँदा रात परेपछि कता नी अनी भनेर प्रश्न गर्छन्, त्यही प्रश्न किन दिउँसो कता भनेर गरिँदैन आखिर रात र दिनमा किन यति धेरै अन्तर भएको होला ?

महिलामाथि हुने विभेद यथावत नै छन् । महिलाकै कारणले महिलाको अवस्था विकराल बन्दै छ । जसको परिमाणस्वरुप समताउन्मुख राज्यको रुपमा समाजको विकास नभई असन्तुलित तथा विभेदकारी समाजको विकास भएको छ । लिङ्ग भेदको प्रक्रियाले महिलाको सामाजिक र्आिथक विकासलाई अदृष्य रुपमा असर पुर्याएको छ ।

महिलामाथि हुने दमन, शोषण, स्वतन्त्रता हनन्, महिला विभेद, न्यायिकता, समानता, र महिलामुक्ति जस्ता कुरामा वहस गरी महिलाप्रतिका पूर्वाग्रही सोचको स्वरुपलाई रुपान्तरण गर्न प्रयत्न गरौँ । समाजमा भ्रम तथा अफवाह फैलाउनुभन्दा खाली समयलाई रचनात्मक कार्यमा सदुपयोग गरौँ ।

१९ औँ शताबिद प्रख्यात महिलावाद हेरिट टेलरले महिलाहरुलाई घर बाहिरका कार्य गर्ने स्वतन्त्रता हुनु पर्दछ भन्ने विषयमा जोड दिई पेशा, शिक्षा जस्ता पक्षमा महिलाका लागि स्वतन्त्रता निकै आवश्यक बस्तु हो भन्ने वकालत गरेकी थिइन् । तथापी २१ औँ शताब्दिमा आईपुग्दा पनि ज्यूँका त्यूँ छ । त्यसैले आज पनि हामी त्यही भुमरीमा छौ ।

लैङ्गिक समानताको लागि सामाजिक, आर्थिक, राजनीतिक तथा साँस्कृतिक पक्षबिचको सन्तुलन हुन जरुरी छ । जसले गर्दा सबैले आफ्नो जीवनमा विभेदरहित र सकारात्मक परिवर्तनको महसुस गर्न सकुन् । पारिवारिक चालचलन र औपचारिक शिक्षामा समानता र स्वीकार्यताका बारेमा व्यवहारिक ज्ञान, सोच र शैलीको पाटोमा पनि सकारात्कम सोचको विकास गरौँ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!