- दिवेश खड्का

देशकै ठूलो पार्टी नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन तामझामको साथ चितवनस्थित नारायणी नदीको तीरमा पाँच लाख कार्यकताहरु उतार्दै तीन दिनसम्म सञ्चालन गर्ने भएको छ । काठमाडौंको गोदावारीबाट प्रथम विधान महाधिवेशन सम्पन्न गरेको नेकपा (एमाले) मूलत चितवनमा हुने महाधिवेशन नेतृत्व छनोटमा केन्द्रीत रहनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेकपा (एमाले) २०७५ जेष्ठ २ अगाडिको नेकपा एमाले पनि हो र त्यस पछाडिको नेकपाको निरन्तरता पनि हो भन्ने बताइसकेकोले यस महाधिवेशनलाई उन्नतस्तरको एकताको र सहमतिको महाधिवेशन पनि मान्न सकिन्छ । उसो त जिल्ला तह, जनवर्गीय संगठन तथा प्रतिनिधि छनोट हुने अन्य विशेष जिल्ला कमिटि लगायतबाट यस पटकको छनोट अधिकांश ठाउँहरुमा सहमतिको आधारमा भएकोले यो महाधिवेशन पनि सहमतिको महाधिवेशनको रुपमा लिन सकिन्छ ।

Advertisement

नेकपा (एमाले) मा वर्तमान समयमा केपी ओलीको विकल्पका रुपमा कोही खडा नभएकोले उनका लागि प्रतिस्पर्धी विहिन महाधिवेशनको रुपमा पनि यो महाधिवेशन रहने छ । आठौं महाधिवेशनका प्रतिस्पर्धी झलनाथ खनाल र नवौं महाधिवेशनका प्रतिस्पर्धी माधव कुमार नेपालले पार्टी त्यागेका कारण पनि उनलाई यो महाधिवेशनबाट एकलौटी अध्यक्षको रुपमा हेरिएको छ । तत्कालीन केपी ओलीसँग रुष्ट रहदै दश बुँदेको जगमा एमालेमै रहेका दश नेताहरुलेसमेत प्रतिस्पर्धाको लागि हिम्मत गर्न सकिरहेका छैनन् । देशभरबाट सहमतिको आधारमा प्रतिनिधि चयन भएकाले पछिल्लो समय नेकमा (एमाले) मा रहेका नेताहरुलाई त्यति सहज छैन अध्यक्षमा उम्मेदवारीका लागि । पछिल्लो टि.भी कार्यक्रमबाट सुरेन्दै पाण्डे, योगेश भट्टराई जस्ता नेताहरुले पनि अध्यक्ष सर्वसम्मत हुन सक्ने सम्भावना औंल्याएका कारण यो महाधिवेशले पुनः केपी ओलीलाई अध्यक्षको रुपमा सर्वसम्मत स्थापित गर्ने सम्भावना प्रवल छ ।

नवौं महाधिवेशनबाट पदाधिकारी चयन भएकाहरु मध्ये राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) त्यागेको घोषणा गरेर स्वतन्त्र बसेका बामदेव गौतम बाहेक सबै पदाधिकारी एमालेमै रहेको, पूर्व माओवादी केन्द्रबाट एमालेमा समाहित भएका राम बहादुर थापा, लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह जस्ता नेताहरु तथा अन्तिम समयमा माधव कुमार नेपालको साथ छोडेका एमालेका प्रभावशाली नेताहरु अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, रघुजी पन्त आदि नेताहरुको व्यवस्थापनमा भने केपी ओलीलाई त्यति सहज हुने देखिदैन । पहिले देखिनै आफैलाई साथ दिएका नेताहरुको व्यवस्थापनको अर्को झमेलासमेत व्यहोर्नुपर्ने देखिन्छ । अध्यक्ष बाहेक १ बरिष्ट उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव १ उपसचिव र ७ सचिवहरुको व्यवस्थापन सहमतिको आधारमा हुने सम्भावना न्यूत रहेको छ ।

संस्थापक नेता पुष्पलालको लिगेसी बोकेको नेकपा एमालेले स्थापनाको बहत्तर वर्ष पछि १० औं महाधिवेशन सम्पन्न गर्न लाग्दै गर्दा यस महाधिवेशनसँग जोडिएका केही रोचक पक्ष यस्तो छ ।

महाधिवेशन खर्च कार्यकर्ताबाट:
नेकपा (एमाले) ले १० औं महाधिवेशनका लागि लाग्ने खर्चका लागि कसैसँग चन्दा नलिने बताइसकेको छ । महाधिवेशन खर्चको जोहो आम कार्यकर्ताबाट गर्न गइरहेको छ । पार्टीका संगठित सदस्यहरुले स्वेच्छिक रुपमा कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न सक्नेछन् । यसरी एमालेको संगठित सदस्य ८ लाग २५ हजारले न्यूनतमा एक सय जम्मा गर्दापनि ८ करोड बढी रकम संकलन हुनेछ । त्यस्तै पार्टी सदस्यहरुबाट प्राप्त हुने लेवी आदि गरेर करिव दश करोड महाधिवेशनका लागि उठाउने लक्ष्य एमालेले लिएको महाधिवेशन प्रचार प्रसार उप–समितिका संयोजक योगेश भट्टराईले बताएका छन् ।

प्रचार प्रसारको लागि डिजिटल प्ल्याटफर्म:
नेकपा (एमाले) ले महाधिवेशनको लागि कुनै पनि षोष्टर पम्पलेट र भित्ते लेखन नगर्ने जनाइसकेको छ । अधिकांश मानिसहरु सोसल मिडियाहरुमा जोडिएकोले नेकपा एमालेले पनि डिजिटल प्ल्याटफर्मलाई प्रसारको माध्यम बनाउन गईरहेको छ । अहिले फेसबुक, ट्विटर, इन्स्टाग्राम र टिकटकमा एमालेको महाधिवेशन लक्षित ब्यानर तथा गीतहरुको व्यापक प्रचार प्रसार भइरहेको पाउन सक्छौं । समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु जस्तै भैरव रिजाल, गौरी मल्ल, भद्र कुमारी घले आदिको अडियो भिडियो सामाग्रीमार्फत महाधिवेशनको शुभकामना सन्देश यत्रतत्र छरिएको पाउछौ । महाधिवेशनलाई पेपरलेस बनाउदै डिजिटल रुपमा लाने पार्टीको रुपमा एमाले दर्ज हुँदैछ ।

चुनाव भएमा भोटिङ मेसिन:
नेपाली वैज्ञानिक दाजुभाई राम लक्ष्मणले बनाएको भोटिङ मेसिन एमालेले प्रयोगमा ल्याउदैछ । कुनै पदमा चुनाव हुन गएमा प्रतिनिधिहरुले भोटिङ मेसिनबाट भोट गर्ने व्यवस्था गरिएको छ । सजिलो तरिकाले भोट गर्न मिल्ने उक्त मेसिनले निर्वाचन सकिने वित्तिकै तुरुन्त नतिजा प्रकाशन गर्नेछ । यसर्थ नतिजाका लागि कुरिराख्नु पर्ने झन्झटबाट कार्यकर्तालाई मुक्ति मिल्नेछ ।

महाधिवेशन स्थल छनौटमा चातुर्यता:
नेकपा (एमाले) का अध्यक्ष सबैभन्दा बढी चिडिएका कोहीसँग छन् भने ती पक्कै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हुन् । पुष्पकमल दाहाललाई उनकै क्षेत्रमा गएर पाँच लाख कार्यकर्ता उतादैं मनोवैज्ञानिक रुपमा झड्का दिने उनको दाउ हुन सक्छ । विधान महाधिवेशन काठमाडौंको गोदावारीमा सम्पन्न गरेको एमालेको महाधिवेशनले चितवनमा एमालेप्रति उभार ल्याउने हिसाबले पनि यसो गरिएको हुन सक्छ । पछिल्लो समय राम, लक्ष्मणको जन्म भएको स्थान अयोध्या चितवनमै रहेको भनी दिएको सनसनीपूर्ण भनाईले माडीबासीहरुको ध्यान खिच्न सफल भएका छन् । माडीलाई मणि बनाउने ओली अभिव्यक्तिले प्रचण्डलाई बेचैनसमेत गराएको छ । उनले सार्वजनिक कार्यक्रम मार्फतनै ओलीले धार्मिक तथ्यलाई ट्विस्ट गरी चितवनबासीको ध्यान मोड्न खोजेको पटक–पटक बताएका छन् । महाधिवेशनमा सहभागीहरुको लागि सौराहाका सबै होटल तथा लज बुकिङ गरेको एमालेको यो अधिवेशनबाट कोरोना सक्रमणले सुस्ताएको होटल तथा पर्यटन व्यवसायीहरुलाई केही मात्रामा भए पनि आशााको दियो जगाएको छ ।

माधव कुमार नेपालको पार्टीलाई छैन निम्तो:
नेकपा (एमाले) ले १० औं महाधिवेवशको अतिथिको रुपमा विभिन्न देशहरुको कम्युनिष्ट पार्टीका नेताहरुलाई निम्तो पठाइसकेको छ । नेपालकै प्रमुख राजनीतिक दलहरुलाई निम्तो पठाएको एमालेले माधव कुमार नेपालको पार्टीलाई निम्तो नदिने औपचारिक जानकारी गराइसकेको छ । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले मान्यता दिएको र माधव कुमार नेपाल लगायतलाई सभामुखले कार्वाही नगरेको विषय लिएर एमालेले लगातार संसद अवरुद्ध गर्दै आइरहेको छ । अध्यक्ष ओलीले माधव कुमार नेपालको पार्टी जालसाझीबाट बनेको अवैधानिक पार्टी भन्दै आएकाले पनि हुन सक्छ माधव कुमार नेपाल र उनको पार्टीलाई निम्तोबाट बन्चित गरिएको ।

महाधिवेशन अगाडिको वार्मअप:
नेकपा (एमाले) १० औं महाधिवेशन सङ्घारमा आउदा ओली देश दौडाहामा निस्किएका छन् । केपी ओलीको उपस्थितीमा भर्खर मात्र धनकुटामा १५०० र नेपालगञ्जमा ४००० बढीको पार्टी प्रवेशले उनी उत्साहित देखिन्छन् । नेकपा (एमाले) बाट चोइटिएर गएको माधव कुमार नेपालको नेकपा एस को प्रभाव नरहेको र पार्टी प्रवेशको लहर आएको सन्देश महाधिवेशनमा लाने ओली टेक्निक गजब रहेको देख्न सकिन्छ । महाधिवेशनकै नजिक आउँदा मंसिर २ गते एमाले निकट अनेरास्ववियुले अखिल साँझ भनेर प्रज्ञा भवनमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरिसकेको छ । मंसिर ७ गते एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली गर्दै मंसिर १० गते १२ बजे नारायणगढ जाऔं भन्दै आव्हानसमेत गर्दैछ । महाधिवेशन लक्षित एक जिल्ला एक स्वागतद्वार निर्माण गर्ने एमालेले जनाएको छ ।

यसरी नेकपा (एमाले) गुटरहित पार्टीको रुपमा अगाडि बढ्दै आगामी निर्वाचनमा एक बलियो शक्तिको रुपमा प्रस्तुत हुने गरी १० औं महाधिवेशन अत्यधिक सफलतापूर्वक सम्पन्न गर्ने दिशामा अगाडि बढिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!