- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित राम बजारमा गएराती आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । छिमेकमा रहेका थप तीन वटा घरमा पनि क्षति पुगेको छ ।

Advertisement

स्थानीय कुलबहादुर तामाङ्गको घरमा रहेको मोटरसाइकल ग्यारेजबाट सुरु भएको आगोले कुलबहादुरको घरसहित छिमेकी महेश्वर राईको घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कुलबहादुरको घरमा वालकुमार श्रेष्ठले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा रहेका ५ वटा मोटरसाइकल आगोमा जलेका छन् । आगलागीमा परी दुवै घरको धनमाल, लत्ताकपडा लगायत अधिकांस सामान जलेर नष्ट भएका छन् ।

त्यस्तै, छिमेकमा रहेका थप तीन वटा घरमा पनि आगोले क्षति पुर्याएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । उनका अनुसार आगोले सुसिन्धर शाहको घरको एउटा कोठा जलेको छ । आगलागीका कारण गौरीशंकर होटल रहेको सारदा पौडेलको घरको ६ वटा र फत्तबहादुर थापाको घरको २ वटा झ्यालमा क्षति पुगेको छ । आगलागीबाट करिब ७५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको भएपनि क्षतिको यकिन विवरण आउँन वाँकी रहेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

राती करिब २ बजेबाट सुरु भएको आगो बिहान करिब ५ः१५ बजे नियन्त्रणमा आएको हो । धनकुटा र संखुवासभाबाट गएका दमकल, प्रहरी र स्थानीयबासीले तीन घण्टापछि आगो निभाएका हुन् । आगो नियन्त्रणका लागि धनकुटा, हिले, पाख्रीवास लगायत क्षेत्रबाट प्रहरी टोली गएको थियो । महालक्ष्मी नगरपालिकाका मेयर नेपालसहितको टोली पनि राती नै घटनास्थल पुगेको थियो । आगलागीको कारण खुलेको छैन ।

यसअघि प्रकाशित समाचार…

धनकुटाको राम बजारमा आगलागी, दुई घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!