संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: कविराज घिमिरे

धनकुटा । लगातारको बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा हिजो अपरान्हदेखि अवरुद्ध भएको कोशी राजमार्ग आज अपरान्हसम्ममा खुल्ने भएको छ । सडक खुलाउँनका लागि अहिले भत्किएको ठाउँबाट बैकल्पिक सडक निर्माण गर्ने काम भइरहेको छ ।

गएरातीदेखि पानी पर्न रोकिएपछि आज बिहानदेखि नै सडक खुलाउँने प्रयास थालिएको हो । डोजर लगाएर खोला बगरबाटै बैकल्पिक सडक निर्माण गर्ने काम भइरहेकाले आज अपरान्ह करिब ४ बजेसम्ममा सवारी सुचारु गर्ने योजना रहेको धनकुटाका प्रहरी प्रमुख एसपी नकुल पोखरेलले संगालोखबरलाई जानकारी दिए । ‘अहिले बैकल्पिक सडक निर्माण गर्ने काम धमाधम भइरहेको छ, ४ बजेसम्ममा बाटो बनाइसकेर गाडी खोल्ने प्रयास गरिरहेका छौं,’ एसपी पोखरेलले भने ।

Advertisement

धनकुटामा सोमबार साँझदेखि मंगलबार रातीसम्म अविरल बर्षा भएको थियो । निरन्तरको बर्षाका कारण लेउती खोलामा बाढी उर्लिदा घण्टे नजिक करिब २ सय मिटर सडक बगाएको हो । सडक बगाउँदा हिजो अपरान्ह करिब ४ बजेदेखि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा सवारी साधन सञ्चालन हुँन सकेका छैनन् ।

सडक अवरुद्ध हुँदा तराईबाट पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा जाने र त्यहाँबाट तराई झर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन् । कोशी राजमार्गको धनकुटा सडक खण्डको गर्जुवा, रुद्रबारी, त्रिसुले लगायत स्थानमा पहिरो खसेको थियो ।

तर, अहिले अन्यत्रको अवरोध हटाइएकाले घण्टेमा सडक बगाएको ठाउँमा बैकल्पिक सडक निर्माण भएपछि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा सवारी सूचारु हुँने प्रहरीले जनाएको छ ।

अपडेट…

खोला बगरबाट अस्थायी सडक बनाएर खुलाइयो कोशी राजमार्ग

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!