संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: कविराज घिमिरे

धनकुटा । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड २४ घण्टापछि आज अपरान्हबाट खुलेको छ । खोला बगरबाट तत्कालका लागि अस्थायी सडक निर्माण गरेर अपरान्हबाट एकतर्फी रुपमा यातायात सुचारु गरिएको हो ।

अविरल बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले हिजो अपरान्ह करिब ४ बजे घण्टे नजिक झण्डै २ सय मिटर सडक बगाएको छ । बाढीले सडक बगाउँदा तराईबाट पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा जाने र त्यहाँबाट तराई झर्ने सयौं सवारी साधन बीच बाटोमै रोकिएका थिए । यो राजमार्गमा दैनिक सयौंको संख्यामा सवारी साधन आवतजावत हुँने गर्छन् । सडक अवरुद्ध हुँदा सवारी आवतजावतमा समस्या भएपछि तत्कालका लागि अस्थायी रुपमा बैकल्पिक सडक निर्माण गरेर यातायात सुचारु गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए ।

Advertisement

अहिले सो स्थानमा एकतर्फी रुपमा सवारी आवतजावत गर्न सक्ने गरी अस्थायी सडक निर्माण गरिएको छ । रोकिएर बसेका सवारी साधनहरुलाई दिउँसो करिब १ बजे एकतर्फी रुपमा पालो–पालो गरेर पास गराइएको थियो । तर, पुनः बाटोमा गाडीहरु फस्न थालेकाले मर्मत गरेर अपरान्हबाट यातायात सुचारु गरिएको ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

धनकुटामा सोमबार साँझदेखि मंगलबार रातीसम्म अविरल बर्षा भएको थियो । बर्षाका कारण कोशी राजमार्गको धनकुटा सडक खण्डको गर्जुवा, रुद्रबारी, त्रिसुले लगायत स्थानमा पहिरो खसेको भएपनि अहिले सबै स्थानको पहिरो पन्साएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!