- सम्पादकीय

धनकुटामा विद्युत लाईन विस्तारमा प्रयोग भएका १० हजार भन्दा बढी पोल जीर्ण छन् । यो विद्युत प्राधिकरण धनकुटाको तथ्यांकले नै देखाउँछ । गाउँ–गाउँसम्म विद्युत लाइन विस्तारमा बर्षौ अघिदेखि प्रयोगमा आएका यी पोलहरु अहिले मक्किएका छन्, भाँचिन लागेका छन् । कतिपय भाँचिएर दुर्घटना पनि निम्तिदै आएको छ । चौविसे गाउँपालिका–२ स्थित जंग सामुदायिक बनमा गत असोज ८ गते विद्युतको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा चौविसे–३ का ५६ बर्षीय भक्तबहादुर दर्जीले ज्यान गुमाउँनु पर्यो । यो एउटा प्रतिनिधि घटना मात्र हो । पोलहरु झन–झन पुरानो र कमजोर बन्दै जाँदा अब यस्तो दुर्घटना क्रमसः बढ्ने निश्चित छ । प्रष्ट भन्दा यी पोलहरु अहिले सर्वसाधरणका लागि थापिएको ‘धराप’ सरह भएका छन् ।

Advertisement

विद्युत लाइन विस्तार गर्ने क्रममा पहिले गाउँमै रुख काटेर काठका खम्बा प्रयोग गरेरै भएपनि गाउँ–गाउँसम्म बत्ती पुर्याइएको छ । अहिले त्यस्ता खम्बाहरु मक्किएकाले टेको लगाएर राख्नुपर्ने अवस्था छ । विद्युत प्राधिकरणले नै उपलब्ध गराएका काठे पोलहरु पनि धेरै पुराना भएकाले जीर्ण छन् । ढल्न लागेका पोलहरुलाई जिल्लाका धेरै ठाउँहरुमा टेको लगाएर अड्यिाइएको देखिन्छ । हावाहुरी चल्दा कत्तिबेला त्यो पोल ढल्छ र करेन्ट लाग्ला भनेर स्थानीयबासीहरु त्रसित छन् । विद्युत प्राधिकरणलाई समस्या जानकारी गराउँदा पनि पोल फेर्न चासो नदेखाएको सर्वसाधरणहरु गुनासो गर्छन् ।

जीर्ण पोल नफेरिदा दुर्घटनाको जोखिम त छदैछ । यता, बत्ति अनियमित हुँदा उपभोक्ताहरु आजित बनेका छन् । छिन–छिनमै बत्ती गइरहने समस्याका कारण जिल्लाबासीहरु हैरान छन् । विद्युतको माध्यमबाट सञ्चालन गरिदै आएका व्यवसायहरु चौपट हुँने अवस्था सृजना भएको छ । दिनमै दर्जनौं पटक बत्ती जाँने÷आउँने गर्दा विद्युतीय सामाग्रीहरु बिग्रिने डरले व्यवसायीहरु चिन्तित छन् । बत्ती झ्यापझ्याप गइरहदा विद्युतीय सामाग्रीहरु बिग्रिएर मर्मत खर्च धान्नै गाह्रो भएको कतिपय व्यावसायीहरुको गुनासो छ ।

कोरोनाको महामारीका कारण अहिले विद्यालयहरुमा भौतिक उपस्थितमा हुँने पढाइ बन्द गरेर अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन् । बत्ती अनियमित हुँदा अनलाइन कक्षाहरु पनि प्रभावित छन् । दैनिक जिवनयापनका क्रममा अधिकांस काममा विद्युतको आवश्यकता पर्छ । तर, त्यही विद्युत भरपर्दो नहुँदा सबै क्षेत्र थोर बहुत प्रभावित भएकै छन् । बत्ती अनियमित हुँदा समस्या भएको भन्दै नियमित गर्न माग गर्दै धनकुटा बजारबासीले प्राधिकरणको धनकुटा वितरण केन्द्रमा गत बर्ष नै ध्यानाकर्षण पत्र पनि बुझाएका थिए । तर, अहिलेसम्म त्यसको सुनुवाई भएन ।

बत्ती अनियमित हुनुमा धेरै कारण छन् । लथालिंग विद्युत लाइन, हावाहुरी, बर्षा, बाढी, पहिरो जस्ता कारणले पनि विद्युत लाइनमा क्षति पुगेर बत्ती अनियमित हुँने गर्छ । तरपनि, विद्युत अनियमित हुँनुको मुख्य कारण भने लथालिंङ्ग विद्युत लाइन नै रहेको विद्युत प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । जिर्ण अवस्थामा रहेका पोलहरु भाँचिने, लड्ने गरेका कारण धेरै ठाउँहरुमा विद्युत अवरुद्ध हुँने गरेको र नियमित बत्ती दिन नसकिएको प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख नै बताउँछन् । तर, ठूलो संख्यामा पोलहरु फेर्नु पर्ने भएकाले धनकुटा वितरण केन्द्रले मात्र यो काम गर्न सम्भव नभएको र यसका लागि प्राधिकरण केन्द्रले नै चासो देखाउँनुपर्ने भनेर धनकुटा वितरण केन्द्र पन्छिन खोजिरहेको छ ।

विद्युत लाइन लथालिंङ्ग छ, बत्ती अनियमित हुँदा सर्वसाधरणहरु हैरान छन्, व्यवसायहरु चौपट हुँने अवस्था बनिसक्यो । धराप अवस्थामा रहेका पोलहरु ढलेर सर्वसाधरणले अनहाकमा ज्यान गुमाउँनु परिरहेको छ, पोल नफेरिदा अझै दुर्घटना बढ्ने भयले सर्वसाधरण आतंकित छन् । तरपनि, विद्युत प्राधिकरण भने समस्याको समाधान गर्नुको सट्टा बत्तीको महसुल उठाउँनमा मात्र केन्द्रित हुनु गलत हो । यस्तो गम्भीर विषयमा लापरबाही गरिनु हुदैन । यो बिषयमा प्राधिकरणको केन्द्रसम्म ध्यानाकर्षण गराएर समस्याको समाधानका लागि ठोस कदम चाल्नुपर्छ । सर्वसाधरणको जिउ ज्यानसँग जोडिएको बिषयमा कुनैपनि कारणले हेलचेक्राई गरिनु हुदैन । यो बिषयमा विद्युत प्राधिकरणको तत्काल ध्यान जाओस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!