- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । मध्यरातमा कोरोनाविरुद्धको खोप बोकेर नेपाली कांग्रेशका कार्यकर्ताको घर पुगेपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली विवादमा तानिएको घटना सेलाउन नपाउँदै मोरङमा खोप मनोमानीको अर्को घटना बाहिरिएको छ ।

प्राथमिकतामा राखिएका लक्षित बर्गलाई खोपको अभाव भइरहेका बेला सुन्दरहरैंचाका एक स्वास्थ्य कर्मचारीको निजी मेडिकलमा लगेर जनप्रतिनिधिका आफन्त तथा नेताहरुलाई खोप लगाइको घटना बाहिरिएको हो । मृगौलिया स्वास्थ्य चौकीका प्रमुख माधब रेग्मीको सिता मेडिकलमा कोरोनाको खोप लगाइने गरेको पाइएको छ । सुन्दरहरैंचाका नगर प्रमुख शिव ढकालसँग रेग्मीको राम्रो सम्बन्ध रहेकाले सोही आडमा खोपको दुरुपयोग गरिएको एक जनप्रतिनिधिले आफ्नो नाम नखुलाउँने शर्तमा संगालोखबरलाई जानकारी दिए । गएराति पनि सो मेडिकलबाट खोप लगाइएको उनले बताए । स्रोतका अनुसार त्यही मेडिकलमा नेताहरु गोपाल थापा, केदार गुरागाई लगायतलाई खोप लगाइसकिएको छ । यता, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी मचिन्द्र बस्नेतले आफुहरुलाई थाहै नदिई कर्मचारीले भ्याक्सिनमा मनोमानी गरेको हुन सक्ने प्रतिक्रिया दिए ।

Advertisement

यता, मेडिकल हलका सञ्चालक रेग्मीले भने यो गलत भएको भन्दै समाचार प्रकाशन नगर्न पटक–पटक आग्रह गरे । उनले आफ्नो पसलमा भ्याक्सिन हानिसकेका बट्टाहरु भेटिएको भने स्वीकार गरेका छन् । स्वास्थ्यमा काम गर्ने कर्मचारी भएकाले खोप बोक्ने भ्याक्सिन केरीयर ल्याउँदा–लादा पुराना खोपका बट्टाहरु निकालेर फालेको बाहेक अरु नभएको उनको तर्क छ । उनले खोप जति वडाध्यक्षले हड्प्ने गरेको आरोपसमेत लगाएका छन् । यो विषयमा मेयर ढकालसँग सम्पर्क गर्न पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुँन सकेन । यता, उपमेयर धना तामाङले यो बिषय आफुलाई जानकारी नै नभएको प्रतिक्रिया दिइन् ।

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरुले खोपमा राजनीति गर्ने क्रम बढ्न थालेको छ । विराटनगरका मेयर पराजुलीको अगुवाइमा रातको समयमा कांग्रेस कार्यकर्ताको घरमा गएर कांग्रेस नेता कार्यकर्ताहरुलाई कोरोना खोप लगाइएको भन्दै अहिले विरोध भइरहेको छ । मेयर पराजुलीविरुद्ध महानगरपालिकाको गेटमा युवाहरुले बिहिबार प्रदर्शनसमेत गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!