- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबासीका लागि एम्बुलेन्स खरिद गरिएको छ । विदेशमा रहेका नेपालीले जुटाएको रकम र गाउँपालिकाको सहयोगबाट सहिदभूमि–२ स्थित भक्त बोलाना स्मृति युवा क्लवको नाममा एम्बुलेन्स खरिद गरिएको हो ।

Advertisement

गाउँमा एम्बुलेन्स आइपुगेपछि सहिदभूमि निवासी प्रदेश सभा सदस्य निरन राई र सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले एक कार्यक्रमकाबीच एम्बुलेन्स सेवा उद्घाटन गरेका छन् । अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका सहिदभूमि–२ साम्वुगाउँका मनोज राईले गाउँका लागि एम्बुलेन्स खरिद गर्न विदेशमा ७ लाख रकम संकलन गरेका थिए । गाउँपालिका कार्यालयले पनि थप ५ लाख उपलब्ध गराएपछि सोही रकमबाट एम्बुलेन्स खरिद गरिएको हो ।

गाउँमा एम्बुलेन्स नहुँदा ट्याक्टरमा विरामी वोकेको खबर सञ्चारमाध्यममा पढेपछि एम्बुलेन्स खरिदका लागि सहयोग जुटाएको अष्ट्रेलियामा बस्दै आएका मनोजले बताए । ‘हाम्रो गाउँमा एम्बुलेन्स नभएर कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर उपचारका लागि लगेको समाचार पढे, नराम्रो लाग्यो अनि साथिहरुसँग कुरा गरेर सहयोग संकलन गरेर पठाएको हुँ,’ मनोजले संगालोखबरसँग भने, ‘हाम्रो सानो पहलले गाउँमा एम्बुलेन्स आएको छ, खुशी लागेको छ ।’

विदेशमा संकलित रकममा गाउँपालिकाले पनि रकम थपिदिएपछि एम्बुलेन्स किन्ने प्रकृयाले पूर्णता पाएको हो । काठमाडौं बस्दै आएका सहिदभूमिका स्थानीय एवं संगालोखबरकर्मी विनोद बिष्टले एम्बुलेन्स खरिद गर्न आवश्यक कानुनी प्रकृया र कागजातको व्यवस्थापन मिलाउँन भूमिका खेलेका थिए । सो एम्बुलेन्समा सहिदभूमि गाउँपालिकाका ७० बर्ष भन्दा बढी उमेरका बृद्धबृद्धा र सुत्केरी गराउँन जाँने महिलालाई २० प्रतिशत सहुलियत दिइने भक्त बोलाना स्मृति युवा क्लवका अध्यक्ष प्रेम राईले जानकारी दिए ।

योसँगै सहिदभूमिमा दुई वटा एम्बुलेन्स भएका छन् । यसअघि सूर्य बहादुर थापा प्रतिष्ठानको पहलमा भारतीय राजदुतावासबाट प्राप्त भएको एम्बुलेन्स गत मंसिर महिनामा सहिदभूमि गाउँपालिका वडा नं.१ लाई हस्तान्तरण गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!