गोमा ढुंगाना/संगालोखबर
धनकुटा बसपार्क । फाइल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटामा जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले खुकुलो प्रावधानसहित असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्दै शनिवारदेखि जोर–विजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

कोरोना संक्रमण रोकथामका लागि धनकुटा नगर क्षेत्रमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । कोरोना थप बढ्दै गएपछि बैशाख ३१ गतेदेखि धनकुटा जिल्लाभर निषेधाज्ञा जारी गरियो । त्यसयता पटक–पटक निषेधाज्ञा अवधि थप गरेर शुक्रबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको थियो । जारी निषेधाज्ञाको अन्तिम दिन शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले खुकुलो प्रावधानसहित छ दिन निषेधाज्ञा बढाएका हुन् ।

Advertisement

यसअघि निषेधाज्ञा अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । तर, अब शनिवारबाट भने निजी तथा भाडाका बस, जिप, भ्यान, टेम्पो, ट्याक्सी, तिन पाङग्रे सिटी सफारी र मोटरसाइकलहरु जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधनलाई जिल्लाभर सञ्चालन गर्न दिइनेछ । जिल्ला बाहिर जान भने सवारी पास चाहिनेछ ।

के हो जोर–बिजोर प्रणाली ?

धनकुटा जिल्लामा दोस्रो पटक जोर–विजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न लागिएको हो । यसअघि गत बर्षको लकडाउनमा पनि केही दिन जोर–बिजोर प्रणालीबाट सवारी साधान सञ्चालन गरिएको थियो । जोर–बिजोर प्रणालीमा जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बरका सवारी साधन मात्र सञ्चालन हुँन पाउँछन् ।

जोर गते बिजोर नम्बर र बिजोर गते जोर नम्बरका सवारी सधान सञ्चालनमा रोक लगाइने धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए । ‘जोर विजोर प्रणाली धनकुटामा नयाँ हो, यसमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी मात्र सञ्चालन हुन दिइन्छ,’ संगालोखबरसँग खड्काले भने, ‘यो प्रणालीमा सवारी साधनको नम्बरको अन्तिमको एक अंक जोर हो वा विजोर हो भनेर हेर्ने गरिन्छ । गाडी नम्बरको अन्तिमको एक अंक ०, २, ४, ६ जस्तै जोर भएमा त्यो सवारी २, ४, ६, ८ जस्तै जोर गते मात्र सञ्चालन हुँन पाउँछ । जोर गते १, ३, ५ जस्तै अन्तिममा बिजोर नम्बर भएका गाडी गुड्न पाउँदैनन् । बिजोर नम्बरमा पनि यस्तै किसिमको नियम लागु हुन्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!