- डा. खगेन्द्र कटुवाल

मानिस प्रकृतिको उपज हो । प्रकृति र मावनबिचमा सामञ्जस्यता भएको खण्डमा मानव जीवन प्राकृतिक नियममा सामान्य रुपमा सुचारु भई नै रहन्छ । तर, जीवन शैलीमा अप्राकृतिक प्रभाव बढ्न थालेपछि अनेक प्रकारका अप्राकृतिक विपत्तिहरुले सताउन सक्छ । प्राकृतिक रुपमा उपलव्ध विभिन्न औषधीजन्य र शरिरको आन्तरिक वा वाह्य रुपमा प्रयोगजन्य अन्य प्राकृतिक वस्तुहरुलाई प्रयोग गरी उपचार गरिने विधि प्राकृतिक उपचार विधि हो ।

Advertisement

होमियोप्याथिक औषधीहरु पनि प्राकृतिक नियममा आधारित भई औषधीजन्य प्राकृतिक वस्तुहरुको प्रयोग गरी उपचार गर्ने गरिन्छ । आयुर्वेदमा पनि प्राकृतिक रुपमा नै औषधीहरु प्रयोग गरिन्छ । होमियोप्याथिमा अति कम सक्रिय तथा अति सक्रिय, प्रभावकारी, औषधीजन्य पदार्थहरुलाईसमेत शक्तिकृत गरी औषधिय गुणहरुलाई मानव स्वास्थ्यको निम्ति उपयोगी बनाएर प्रयोग गर्ने गरिन्छ । होमियोप्याथि भनेको समानता नै समानताको समाधान हो । अर्थात् विष काट्न विष नै चाहिन्छ । अर्थात् फलाम काट्न फलाम नै चाहिन्छ । अर्थात् संस्कृतमा समः समंः समयतीः भनेर भनिएको छ । यसरी पूर्विय दर्शनमा उल्लेख भएको यो सिद्धान्तमा आधारित भई सर्पको विष काट्न सर्पकै विषलाई प्रयोगमा ल्याई एन्टी स्नेक भेनम पनि बनाईएको छ । खोपहरुमा पनि त्यही रोगी तन्तुहरु वा जिवाणुहरु वा विषाणुहरुलाई प्रयोगमा ल्याएर भ्याक्सिनहरु बनाईएको हुन्छ ।

होमियोप्याथीमा नोसोड ग्रुपका औषधीहरु रोगी तन्तुको प्रोडक्टबाट नै बनाइएको हुन्छ । तर, होमियोप्याथिमा चाहि जुन रोगको रोगी तन्तुबाट औषधी बन्छ, त्यो औषधी त्यही रोगलाई मात्र प्रयोग गर्ने नभई अन्य व्यापक खालका रोगीहरुलाईसमेत प्रयोग गर्ने गरी समानताको आधारमा रोगी र औषधीलाई विश्लेषण गरी औषधी प्रमाणिकरण गरिएको हुन्छ । होमियोप्याथिमा त्यस्ता विषाक्त पदार्थहरुलाईसमेत अणु र परमाणुमा न्यूनिकरण गरी, अदृश्य शक्तिको रुपमा विकास गरिन्छ ।

एउटा औषधीको भायलमा एउटै मात्र औषधी राखी प्रयोग र परिक्षण गरेर यही समः समं समयतीःको सिद्धान्तमा आधारित भई जीवन शक्तिलाई बढाएर विकार कुराहरुलाई हटाएर विरामीलाई निको बनाईन्छ । यसरी भाईटल फोर्सलाई अथवा ईम्युनिटि पावरलाई बढाई विरामीलाई प्राकृतिक अवस्थामा राखी लामो आयुसम्म स्वस्थ बनाउन सक्ने उपचार विधिको रुपमा होमियोप्याथी स्थापित छ । आविश्कारको हिसावले हेर्ने हो भने, सबैभन्दा पुरानो चिकित्सा आयुर्वेद हो । (करिब ५,०००वर्ष पहिले आयुर्वेदको आविश्कार भएको हो ) त्यसपछि आधुनिक चिकित्साको रुपमा एलोप्याथीको विकास भएको पाईन्छ । त्यसपछि सन् १७९६ अर्थात् करिब २२५ वर्ष पहिले अहिलेको उत्तरआधुनिकवादसँग मेल खाने नविनतम् सिद्धान्तमा आधारित भई होमियोप्याथिक चिकित्साको आविश्कार एलोप्याथिमा एम.डी. गर्नु भएका जर्मनीका चिकित्सक डा.स्यामुयल हेनीमेनबाट भएको हो । यद्धपि, होमियोप्याथिका आधारभूत सिद्धान्तहरु प्राकृतिक नियममा आधारित भई पूर्विय दर्शनबाटै विकास भएको पार्एको छ । तसर्थ, होमियोप्याथिक चिकित्सा जर्मनीबाट शुरु भए पनि विश्वभर एक नविनतम् विधाको रुपमा प्रयोगमा आएको छ ।

होमियोप्याथि लगायतका अन्य वैकल्पिक चिकित्सालाई अलग–अलग अस्पताल र रिसर्च सेन्टर खोली राज्यलाई आर्थिक भार बढाउनु भन्दा आयुर्वेदिक चिकित्सा, योग तथा प्राकृतिक चिकित्सा, आधुनिक चिकित्सा र होमियोप्याथिक चिकित्सा लगायतका सबै चिकित्सालाई एउटै छानामुनी संपूर्ण सेवा उपलव्ध गराउन सकेमा एक विधाको चिकित्सक वा स्वास्थ्य कर्मीले अर्को विधाको चिकित्साको बारेका जानकारी पनि प्राप्त हुन जान्छ । जसले गर्दा अहिले भईरहेको चिकित्सकिय भेदभाव र चिकित्सा क्षेत्रको अवमूल्यांकनलाई पनि हटाउन सकिन्छ ।

समावेसी समाज भन्ने मात्र होईन, उपचार गर्ने, जीवन बचाउँने पवित्र स्थल हस्पिटललाई समेत समावेसी बनाउन सके सामाजिक रुपमा जनताले सुविधा पाउनेछन् भने, आर्थिक रुपमा समेत राज्यलाई ठुलो टेवा पुग्नेछ र एक चिकित्साले अर्को चिकित्सालाई मद्यत पनि पुग्नेछ । विश्वका धेरै देशले अंगिकार गरेको एकीकृत चिकित्सा सेवाबाट जिल्ला तह र पालिका तहमासमेत ईन्टिग्रेटेड हस्पिटल सञ्चालन गर्न सकेमा हाम्रो समाज साच्चै स्वस्थ बन्न सक्ने कुरामा दुई मत छैन ।

डा.कटुवाल अल नेपाल होमियोप्याथिक एसोसिएशनका केन्द्रिय अध्यक्ष हुन् ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!