- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा पीसीआर परीक्षण घटाएर जिल्लाका सात वटै पालिकाबाट निःशुल्क एन्टिजेन परीक्षण गर्न थालिएको छ । एन्टिजेन परीक्षण गर्न सरल र रिपोर्ट छिटो आउँने भएकाले जिल्लाका सात वटै पालिकामा एन्टिजेन परीक्षण गर्ने क्रम बढाइएको हो ।

Advertisement

धनकुटामा गत बर्षदेखि नै पीसीआर परीक्षण गरिदै आएको छ । बुधबारसम्म ४ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण भएको छ । यता, गत जेठ पहिलो साताबाट मात्र थालिएको भएपनि एक महिनाकै अवधिमा एन्टिजेन परीक्षण गराउँनेको संख्या १ हजार ९ सय ४७ पुगिसकेको छ । एक महिनाको अवधिमा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ३२ जनामा कोरोना संक्रमण पत्ता लगेको छ ।

पहिले पीसीआर विधिबाट कोरोना परीक्षण गरिदै आएको भएपनि अहिले एन्टिजेन विधि पनि आएकाले सरल र छिटो परीक्षणका लागि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए । ‘पहिले एन्टिजेन बिधि आएको थिएन । हामीले पीसीआर विधिबाटै कोरोना परीक्षण गराउँदै आएका थियौं,’ गुरागाईले भने, ‘पीसीआर विधि भन्दा एन्टिजेन विधिबाट सरल र छिटो रिपोर्ट आउँने भएकाले अहिले सबै पालिका पालिकाबाटै एन्टिजेन परीक्षण भइरहेको छ ।’

धनकुटा जिल्ला अस्पतालमा पीसीआर ल्याब छ । गाउँ–गाउँबाट स्वाब संकलन गरेर जिल्ला सदरमुकाम ल्याई पीसीआर मेसिनबाट परीक्षण गराउँदा रिपोर्ट आउँन कम्तिमा एक दिन लाग्ने गर्छ । यता, एन्टिजेन विधिबाट परीक्षण गर्दा २० मिनेट भित्रै कोरोना संक्रमण भए नभएको पत्ता लाग्छ । स्वाब संकलन गरेको ठाउँमै किटमार्फत एन्टिजेन परीक्षण गर्न सकिने भएकाले सहज भएको हो ।

पहिले पीसीआर परीक्षणका लागि पालिकाहरुबाट स्वाब संकलन गरी जिल्ला सदरमुकाम ल्याइने गरेको भएपनि अहिले जिल्लाका सबै पालिकाले पालिकास्तरमै एन्टिजेन परीक्षण गराउँदै आएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्न सहज र तत्काल रिपोर्ट आउँने हुँनाले कोरोना संक्रमितको व्यवस्थापनमा पनि सहज भएको महालक्ष्मी नगरपालिकाका हेल्थ असिस्टेन्ट प्रेम भट्टराई बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!