संगालोखबर सम्वाददाता

सुनसरी । छातीमा १२ इन्चको रड गाडिएका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरेर रड निकालिएको छ । झापाका ३८ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक शल्यक्रिया गरेर छातीमा गाडिएको रड निकालिएको हो ।

Advertisement

घरको भित्ता प्लास्टर गर्ने क्रममा जेठ ११ गते दिउँसो ६ फिटको उचाइबाट झर्दा उनको छातीको देब्रे कोखामा १२ इन्चको रड छिरेको थियो । सोही साँझ उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो । जेनेरल सर्जरी विभागका डा. सुरेशप्रसाद शाहको नेतृत्वमा कार्डियो थोरासिस भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल लगायतको टिमले शल्यक्रिया गरेर रड निकालेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार अप्रेशन गर्न तयार गरिएको अवस्थामा जिनएक्सपर्टका आधारमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखियो । कोरोना संक्रमण पुष्टि भएपनि डाक्टरहरुले स्वास्थ्य सावधानी अपनाएर उनको शल्यक्रिया गरेका हुन् । उनको छातीमा छिरेको रडले करङलाई छेडेर फोक्सोको तल्लो भागमा चोट पुर्याउनुका साथै मुटुको पेडिकार्डियममासमेत चोट पुर्याएको चिकित्सकहरुले बताएका छन् । अप्रेशन गरेर छातीबाट रड निकाल्नुका साथै फोक्सो र मुटुमा लागेको चोटको पनि उपचार गरिएको छ ।

शल्यक्रियापछि उनलाई कोभिड अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको हो । बिरामीको पुनः पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगटिभ आएपछि उनलाई सर्जरी वार्डमा सारेर केही दिन उपचार गरिएको थियो । उपचारपश्चात स्वास्थ्य अवस्था सामान्य भएपछि शनिवार उनलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!