धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा हालसम्म ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएका १४६ जनामध्ये ४७ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त हुँन सफल भएका हुन् ।
गाउँपालिकामा हालसम्म पीसीआर बिधिबाट परीक्षण गर्दा १०३ जना र एन्टिजेन विधिवाट परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४७ जना संक्रमणमुक्त भएका छन भने ९९ जना सक्रिय संक्रमित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।
पालिकाको वडा नं २ मा ३२, वडा नं ४ मा १३, वडा नं ५ मा १४ र वडा नं ६ मा ४० जना सक्रिय संक्रमित छन् । उनीहरु सबैजना होम आइसोलेसनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । सहिदभूमिका १ जना धनकुटा जिल्ला अस्पतालको आइसोलेसनमा र एक जना धरानको विजयपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेको गाउँपालिकाले जनाएको छ ।
यसैवीच सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईसहितका जनप्रतिनिधि संक्रमितको घर–घरमा पुगेर उनीहरुको हौसला र आत्मावल बढाउने अभियानमा जुटेका छन् । स्वास्थ्यकर्मी र कर्मचारीसहितलाई लिएर संक्रमितको घर–घरमा पुगेर उनीहरुले संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य परामर्शसहित स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार प्रदान गर्ने गरेका छन् ।
यता, भोलिदेखि प्रत्येक वडा कार्यालयमार्फत जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको टोलीले घर–घरमा पुगेर स्वास्थ्य परामर्शसहित हात धुने साबुन, सेनिटाइजर, माक्स लगायतका सामाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।
















