- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कोरोना संक्रमितका आफन्त बस्नका लागि शनिवार टेन्ट टागिएको छ । नेपाली सेनाको बरख गण सल्लेरी व्यारेक र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मले अस्पताल परिषरमा एक/एक वटा टेन्ट टाँगेका हुन् ।

Advertisement

यसअघि धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा मात्र कोरोना संक्रमित राख्ने गरिएको भएपनि अहिले स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितहरुलाई जिल्ला अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ ।

अस्पतालमा उपचाररत कोरोना संक्रमितका आफन्तहरुलाई बस्न समस्या भइरहेका बेला अस्पताल परिषरमै टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाइएको धनकुटा अस्पताल व्यवस्थापन समिति सदस्य एवं उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । धनकुटा अस्पतालमा अहिले १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । टेन्ट टागिएपछि बस्न सहज भएको संक्रमितका आफन्तहरुले बताएका छन् ।

यसैबीच, कोरोना संक्रमित मृतकको शव पोको पार्ने झोला धनकुटा जिल्ला अस्पताललाई प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रदेश १ ले अस्पताललाई १० थान ‘डेथबडिव्याग’ हस्तान्तरण गरेको हो । प्रदेश सभा सदस्य निरन राईको उपस्थितीमा रेडक्रसका प्रदेश अध्यक्ष नरेन्द्र पोखरेलले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंक चुवानलाई डेथबडिव्याग हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमितको मृत्यु हुँने क्रम बढीरहेकाले संक्रमितको शव व्यवस्थापन गर्न प्रयोग गरिने झोला प्रदान गरिएको रेडक्रसका प्रदेश अध्यक्ष पोखरेलले जानकारी दिए । कोरोना संक्रमितको मृत्यु हुँदा मृतकको शवलाई प्लाष्टिकको व्यागमा पोको पारेर नेपाली सेनाले शवको अन्त्येष्टि गर्ने गरेको छ ।

धनकुटा अस्पतालमा बनाइएको टेन्ट । तस्वीर : सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!