- दिवेश खड्का

मैले मेरो वास्तविकता बताउन नपाई ऊ म बाट टाढा भयो । मैले भेटेर नै सबै कुरा भन्छु भन्ने सोचाई राख्नु नै मेरो गल्ति भयो । मैले सबै कुरामा च्याटमा भनेको भए पनि त हुने । फेरी म आफैं परिबन्धमा परेको थिए । कस्तो अफ्ठेरो दिन । उफ् जिन्दगीले पनि कता डोर्याउने । कम्तिमा सम्पर्कमै भएको भए पनि सबै कुरा लेख्नु हुन्थ्यो । सायद मसँग आएको पुरुषलाई चिनाउदा उसलाई मैले धोका दिएको ठानेर पो अलग भएको हो कि ! फेरी उसको ठाउँमा म भएको भए पनि त त्यस्तै हुन्थ्यो होला ।

रोमानियको राजधानी बुचारेष्टमा मेरो जिन्दगी राम्रै चल्दैथ्यो । अनि मैलै दुःख सुखको साथि पनि भेटाएको थिए फेसबुकमा । ऊसँगको घण्टौ गफले सामिप्यता मिलेको थियो । मेरो त्यही स्थित सुपरमार्केटमा जब थियो । मैले चिनेको खासै नेपालीहरु पनि त्यहाँ थिएनन् । झण्डै एक वर्ष अघि म आफ्नो काममा जाने सिलसिलामा इस्क्यालेटर (भर्याङ) मा चिप्लिएर नराम्ररी लड्न पुगेछु । मेरो टाउको भुईमा नराम्ररी ठोकिन पुगेछ । होस आउँदा म अस्पतालमा । आँखा खुल्दा अस्पतालको वार्डमा पाँउछु । ठीक अगाडिको चेयरमा एक अपरिचित पुरुष बसिरहेका हुन्छन् । म छक्क पर्छु ।

जिउ उठाउन खोज्दै, “हैन, यो कहाँ हो ? म कहाँ छु ?” आश्चर्य मिश्रित भावमा म सोध्छु । ‘‘हजुर अहिले अस्पतालमा हुनुहुन्छ । सुपरमार्केटमा हजुर एक्कासी इस्क्यालेटरमा लड्नु भयो । टाउको भुईमा बजारियो । म नजिकै थिए । तपाई भए ठाउँमा कुदेर गए । तपाईको होस् थिएन । घाँटीबाट लत्रिरहेको आइडी कार्डमा नेपाली नाम देखे । हत्त त पत्त अस्पताल लिएर आए । आज दुई दिन पछि बल्ल होस् आयो । थ्याङ्क गड ।” उसले बेलिविस्तार लायो । एकाएक त्यो घटना मेरो दिमागमा घुम्न थाल्यो । अहो, कस्तो अन्जान ठाउँमा पनि भगवानले पठाइदिएको मान्छे जस्तो लाग्यो । “धन्यवाद” मैले आभारपूर्ण रुपमा उसलाई भने । अनि उठ्न खोजेको जिउ नै लल्याकलुलुक भएर आयो । यो देखेर उसले भन्यो–“के गर्न आट्नु भएको ? हजुरको टाउकोमा चोट लागेको छ । फेरी डाक्टरले तत्कार हिड्न हुँदैन भनेको छ । बस्नुस । बस्नुस ।”

मेलै टाउकोमा हातले छामे । वरिपरी ब्यान्डेज लगाएको रहेछ । मलाई एकदम कमजोर फिल भै’रहेको थियो । उसले हत्त न पत्त आफ्नो ब्यागबाट अनारको जुस निकाल्यो र त्यसमा पाइप राखि मलाई दिदै भन्यो–“यो पिउनुस् ।” मैले उसले दिएको जुस पिए । जुस नशा–नशामा प्रसार भए जस्तो लाग्यो । सायद, धेरै दिनको भोकले अथवा मुखबाट केही खाना नगएकोले नि हुनसक्छ । एकाएक मलाई मेरो पर्स, मोबाइल, मेरो परिवार अनि मसँग घण्टौ फेसबुकमा गफ गर्ने उही साथिको याद आयो । “मेरो मोबाइल ।”– मात्र मोबाइल भनेर म अलिक जोडले भन्न पुगेछु । “मैले हजुरको सबै सामानहरु सुरक्षित राखिदिएको छु ।” उसले थप्यो “हजुर अचेत भई बेडमा सुतिराख्दा पनि हजुरकोे म्यासेज आइरहेको थियो । शुरुमा त मैले वास्ता गरिन । स्वीच अफ गरिदिए । अनि एक मनले लाग्यो । यो सबै कुरा हजुरको कोही न कोही आफन्त त म्यासेन्जरमा भेटाउछु र यो घटनाको बारेमा भन्दिउ जस्तो लाग्यो । फेरी डाक्टरले पनि होस् आउँछ भनेकोले किन दुःख दिनु जस्तो लाग्यो ।”

नम्र स्वरमा उसले बेलिविस्तार लायो । ऊ भने मेरो होस आउने प्रतिक्षामा बसिरहेको रहेछ । संसारमा यस्तो मान्छे पनि भेटिदा रहेछन् । मसँग त ऊ प्रति आभारको कुनै शब्द नै थिएन । आँखाबाट आँशु खस्न थाल्यो । त्यो आँशु समर्पणको आँशु थियो । ऊ प्रतिको आभारको आँशु थियो । टिस्यू पेपरले आँशु पुछ्दै ऊ भन्दै गयो–“भोली पल्ट मोबाइल फेरी अन गरे । उही मान्छेले म्यासेज एकपछि अर्को गर्दै आउन थाल्यो । सायद स्वीच अफ गरेकोले पेण्डिङ भएका सबै म्यासेज आएर होला । मैले सबै हेरे । अनि त्यसभन्दा अगाडिको पनि हेरे ।” मलाई अलिक असहज महसुस भयो । उसले त सबै म्यासेज हेरेछ । अलिक अफ्ठ्यारो महसुस गरे । म भन्दा अफ्ठ्यारो महसुस उसले गरिरहेको थियो ।

“मैले हजुरकै जस्तो गरी म्यासेज रिप्लाई गरिदिए ।”
मैले मोबाइल मागेर म्यासेज बक्स चेक गर्न थाले । कति धेरै म्यासेज पठाएको रहेछ । उसमा बढी नै छटपटि देखिन्थ्यो ।
“तिमी कहाँ छौं ?”
“के भयो ?”
“किन बोल्दिनौ ?”
“म्यासेज रिप्लाई गर प्लिज !”
………………………..
यस्तै–यस्तै धेरै म्यासेज उसले पठाएको रहेछ । मेरो अगाडि बसेको अपरिचित मान्छेले सहज उत्तर दिएछ–“म सन्चै छुु । दुई दिन नबोल्दा कस्तो छट्पटि हुन्छ भनेर तिमिलाई सताउन खोजेको मात्र । मलाई माफ गर ।”
“हतेरी तिमि पनि ! अबदेखि भुलेर पनि यस्तो सरप्राइज नदिनु ।”
“हुन्छ बाबा हुन्छ । बरु भन तिमिलाई कस्तो छ ?” मेरो तर्फबाट उसले लेखेछ ।
“तिमिले मेरो प्राण झण्डै लग्यौं । यस्तो पनि हुन्छ ?
–“गल्ति भयो नि त । खासमा म मेरो प्रोजेक्टमा विजी भएर मोबाइल नचलाएको ।”
“अनि यो सब भनेको भए हुन्नथ्यो ।”
“कति माया गर्दाे रहेछौं भनेर चेक गर्नलाई । थाहा पाउनु परेन ।”
“पख न तिमीलाई”
–“ल ल पखि राख्ने हो । यो जीवनभर ………”
यस्तै–यस्तै रिप्लाई गरेको रहेछ । मनमनै हाँस उठ्यो । उसलाई हेरे । ऊ असहजतामा म तिर हेर्न सकिरहेको थिएन । म अचेत भई ढल्दा उसले चिनेको मान्छे जत्तिकै मलाई साथ दिइरहेको थियो । “मैले गल्ति त केही लेखिन नि म्याम ?” विनम्र भावमा उसले प्रश्न ग¥यो ?
–“अँह छैन तर मैले आजसम्म आइ.लभ.यू. लेखेको थिएन । त्यो पनि पो लेखिदिनु भएछ ।” मलिन स्वरमा मैले भने ।
ऊ हल्का मुस्कुरायो ।

“डाक्टरले केही ठोस खानेकुरा खानु भन्नु भएको छ यो लिनु ।” भन्दै उसले टिफिन क्यारीबाट एक बटुको गिलो भात मलाई थमाइदियो ।
यस्तै अपरिचित शहरमा कैले देख्दै नदेखेको मानिस पनि यति सहयोगी हुँदो रहेछ । मनमनै सोचे । झट्ट हेर्दा २९/३० वर्षको देखिने उक्त अपरिचित व्यक्तिलाई मैलै कृतज्ञताको जस्तो शब्द प्रयोग गरेपनि त्यो कमै हुन्थ्यो होला सायद ।
“गिलो भात कहाँबाट बनाएर ल्याउनु भयो ?” –“यही अलिक पर मेरो रुम छ । म आफैं खाना पकाएर खान्छु । आमाले म बिरामी हुँदा पनि यस्तै खाना दिनु हुन्थ्यो । त्यही भएर ।”
चम्चाले विस्तारै खाना मुखमा लाँउदै भन्न थाले, “किन यति दुःख गर्नु भएको मेरो लागि?”
–“यो विरानो शहरमा तपाईको को नै छ र ? यो मेरो कर्तव्य हो ।” ऊ जोड्दै गयो, “अनि फेरी एउटा नेपालीले अर्को नेपालीलाई यस्तो अवस्थामा पनि सहयोग नगरेर कहिले गर्ने त ?”
उसको बोली अनि व्यवहारले एउटा परिपक्व पुरुषको झझल्को दिन्थ्यो । एउटा समझदार र सहयोगी भावना उसको बोलि पिच्छे झल्क्न्थ्यो । “अब तपाईलाई राम्रो हुँदै जान्छ । डाक्टरले भोलि नभए पर्सि डिस्चार्ज दिन्छ । म भरे आउँछु । सारो–गारो परे मेरो नम्बरमा फोन गर्नु ।” यति भन्दै फोन नम्बर भएको उसको भिजिटिङ कार्ड दिएर गयो ।

“धन्यवाद !” भन्दै मैले उसको भिजिटिङ कार्ड समाए । नाम देभराज कटुवाल । कम्पनी मेगा मल । पद सेक्युरिटी अफिसर । ऊ त मैले नै काम गर्ने ठाउँको अफिसर रहेछ । तर, मैले पहिलो पटक अहिले नै देखेको । उमेर ठ्याक्कै तीस वर्ष पुगेको । उसको कार्डको अन्तिममा फेसबुक लिङ्क पनि राखेको रहेछ । अफ्ठ्यारो घडिमा मलाई सहयोग गर्ने उक्त अपरिचित व्यक्तिको बारेमा बुझ्ने हुटहुटी बढी रह्यो । हत्त न पत्त मैलै उसलाई फेसबुकमा सर्च गरे ।

उही नामको धेरै व्यक्ति भएपनि उसको फेसबुक आइडी सर्चको माथिल्लो भागमा बसेको रहेछ । विलम्व नगरी मैले उसको फेसबुक प्रोफाइल खोले । गहुँगोरो वर्ण, नाक छेउ कोठी, दुई फक्लेटा परेको चिउडो र हल्का दाह्री भएकोे स्वयम्भूमा खिचेको फोटो उसले प्रोफाइल पिक्चर राखेको रहेछ । फोटो र अहिलेको मान्छे दुरुस्तै । कभर फोटोमा आफुसहित दुई जना महिला अनि वृद्ध बुबा आमाको फोटो देखिन्थ्यो । लाग्थ्यो यो उसको नितान्त आफ्नो परिवारको फोटो हो र फोटोमा भएका मानिसहरु उसका आमाबुबा र दिदीहरु हुन् ।

उसको प्रोफाइललाई स्क्रोल गर्दै जाँदा ऊ बारे धेरै कुरा जान्ने अवसर मिल्यो । उसको घर दमक गौरादह रहेछ । दुई दिदी पछिको एक्लो भाइ रहेछ । आमाबुबा सँगै दिदी र एउटा भान्जो बस्दा रहेछन् । उसको घर, घरछेउको बगैँचा अनि खेतीबारी हेर्दा ऊ सम्पन्न जस्तो देखिन्थ्यो । जति–जति उसको प्रोफाइल हेर्दै गए त्यति त्यति ऊ परिचित भएको भान हुन्थ्यो । प्रोफाइल हेर्नु अघिसम्म मेरो मनमा एक खाले आधिहुरी चलेको थियो । तर, जब उसको बारेमा थोर बहुत बुझ्ने अवसर पाए एकाएक आँधिहुरी रोकिएपछि सफा भएको मौसम जस्तो भयो मेरो मन ।
दिमागमा धेरै प्रश्नहरु रन्थनिन थाले । त्यस्तै सम्पन्न व्यक्ति आखिर किन वैदेशिक रोजगारमा आयो ? आफ्नो वृद्ध बाबु, आमा छोड्ने आखिर उसलाई के बाध्यता थियो ? किन ऊ अझै सिङ्गल छ ? यति भद्र, सहयोगी, र शालिन मान्छेको जीवनमा कहिले कोही किन आएनन् ?
यी प्रश्नहरुको उत्तर उसको फेसबुक प्रोफाइलले पक्कै दिदैनथ्यो । फेरी मैले किन सोध्ने ? अँह म सोधेरै छाड्छु ऊ आए पछि । हैन–हैन यसो गर्नु हुन्न । मनमा द्वन्द्व चली थाल्यो ।
त्यतिकैमा मेरो मोबाइमा म्यासेजको रिङ बज्यो ।
“हेलो डियर सन्चै छौ ? उही मसँग सदाबहार च्याट गरिराख्ने साथि ।
–“ठीक छु ।” मैले जवाफ दिए ।
“कहाँ छौ अहिले ? त्यहाँ त साँझ हुन लाग्यो होला ? अफिसमा कि घरमा ?”
मलाई गाह्रो भयो जवाफ दिन । कसरी भन्न सक्छु म अहिले अस्पतालको बेडमा छु भनेर । र, मसँग एक अपरिचित पुरुष छन् भनेर ।
मैले सहज जवाफ दिए–“म अहिले घरमै आराम गरिरहेको छु ।”

क्रमश:

(कथाको पात्र तथा स्थान काल्पनिक हुन्। कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।)

यो पनि…

कथाः साइबर प्रेम (भाग–१)

कथाः साइबर प्रेम (भाग–२)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!