- संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परी किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ । गएराती करिब १ बजे घरमा आगलागी हुँदा किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

Advertisement

एक साता अघि मृत्यु भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरिया गर्न बसेका बेला घरमा आगलागी भएर दम्पतीको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले संगालोखबरलाई बताए । राजेन्द्रवावु अन्य दाजुभाईसँगै मूल घरमा किरियापुत्री बसेका थिए । आगलागीको घटना भने उनको आफ्नै घरमा भएको हो ।

किरियापुत्री बसेका बेला अन्य व्यक्तिसँग नछोई उनी यसअघि पनि नजिकै रहेको आफ्नो घर जाँने गरेका थिए । गएराती पनि उनी त्यसरीनै घर गएका बेला आगलागी भएको हो । आगलागीमा परी श्रीमती कमलाको घटनास्थलमै मृत्यु भएको हो भने गंभीर घाइते भएका राजेन्द्रवावुलाई उपचारका लागि ओखरबोटे बजारतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । केही स्थानीयले उनीहरु आफैले आगो लगाएर आत्मदाह गरेको हुँनसक्ने आशंका पनि गरेका छन् ।

तर, घटनाको प्रकृति हेर्दा त्यस्तो नदेखिएको डिएसपी मल्लले बताए । ‘कसरी आगो लाग्यो भन्ने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान गर्दैछौं,’ डिएस्पी मल्लले संगालोखबरसँग भने, ‘घटनाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाहा गरेको जस्तो देखिएको छैन । पोष्टमार्टम गर्ने स्वास्थ्यकर्मीलाई घटनास्थलमै लगेका छौं । घटनाको विषयमा अनुसन्धान पुरा भएपछि मात्रै के कारण हो भन्ने यकिन भन्न सकिन्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!