- दिवेश खड्का

“याम्बुनेर” कथा सङ्ग्रह । बिना थिङ, एक सामान्य तामाङ महिलाले लेखेको सामाजिक घटनामा आधारित कथाहरुको सङ्ग्रह । कथाकारको कुनै पनि कथा यसअघि कहिल्यै पढेको थिइन । तर, यो कथा सङ्ग्रहको नामले यसप्रति चाख बढायो । “याम्बु” तामाङ भाषामा राजा बस्ने गाउँ । अर्थात काठमाडौं । लेखकले त्यही ठाउँ नजिक हुर्किदै त्यहाँको समुदाय विशेषको सामाजिक अन्र्तघुलनलाई समावेश गरेको कथाहरुको सङ्ग्रह रहेछ–याम्बुनेर ।

Advertisement

तेह्र भिन्न कथाहरु रहेको यस कथा सङ्ग्रहमा कथाकार सामाजिक अन्तरघुलन मात्र हैन यौन मनोविज्ञान, समसामयिक राजनीतिक घटना, अन्तरधार्मिक विवाह, विधवा विवाह, अन्तरजातिय विवाह, बालमनोविज्ञान, चेलिबेटी बेचबिखन, वैदेशिक रोजगार आदि समाजमा घट्ने घटनाहरुलाई जस्ताको तस्तै चित्रण गर्न सफल भएकी छिन् । कथा पढ्दै जाँदा पात्रहरु आफ्नै परिवेशका लाग्न थाल्छन् । कथाको पात्र आनि र हामै्र तिरका आनिहरुमा भिन्नता पाउन गाह्रो छ । कथाको ड्राइभर र हाम्रो मष्तिस्कमा प्रिन्ट भएको ड्राइभर उस्तै पाउँछौ । समग्रमा यो कथा सङ्ग्रह सामाजिक यथार्थवादी कथा हो ।

कथा भन्नुअघि कथा अथवा प्रारम्भमा कथाकारले शीर्षक छनौटको सार्थकता बताउन खोजेकी छिन् । उनी लेख्छिन् “डर लाग्छ, कतै सपनाको झिलिमिलिमा यथार्थ बनिसकेका ती पीडाहरु नसुनिउन् । डर लाग्छ, याम्बु देख्नेहरुले “याम्बुनेर” को यो भूमिलाई याम्बु नै नठानिदिउन । डर लाग्छ । र, यहि डरले मलाई कथा भन्न लगाएको हो ।” काठमाडौं त हरेकको सपनाको शहर भयो । हजारौं साहित्य लेखियो । तर, त्यही नजिकको सिमान्तको कथा छुटिरह्यो अनि ’याम्बुनेर’ को भूगोल चिनाउन बिना थिङको प्रयासले रुप लियो, यो कथा सङ्ग्रह को ।

‘आनी पेमा’ बाट कथा शुरु हुन्छ । तामाङ तथा बौद्ध संस्कृतिमा गुम्बा गएर गुम्बाको कठोर अनुशासनमा शाम्सरिक जीवनबाट टाढा रहदै बस्नुपर्ने आनीहरुको कथा हो यो । चाहेर पनि परपुरुषसँग को सम्सर्गमा आउन नसक्ने आनी पेमामा जवानीसँगै आएको विचलनलाई देखाउन खोजिएको छ । बाहिरी पुरुषप्रति जति नै आकर्षित भए पनि गुम्बा अनि रिम्पोछेको आदेशलाई उनी टार्न सक्दिनन् । उमेरसँगै आएका काम वासनालाई सहजै उनी दबाइदिन्छिन् ।

‘सिकोफाइभ’ कथा समसामयिक राजनिति, यौन मनोविज्ञान र महिलाको विद्रोहमा आधारित कथा हो । अहिले पनि धेरै ठाउँहरुमा भौतिक वस्तुहरुको प्रलोभनमा पारेर धेरै चेलिहरु बलात्कृत भएको घटना छन् । एउटा घडिको लोभ देखाएर एक अधवैशे पुरुषले गरेको अत्यचारको कथा छ । पञ्चायत व्यवस्थाको एक दम्भी पात्र को कूकृत्य र उनको हत्याको आरोपमा राजनीतिक प्रतिशोधका आधारमा निर्दोष व्यक्तिहरुले अनायक पाएको सजाय र एउटी आमाले आफ्नो बलात्कृत छोरीका लागि गरेको विद्रोहको कथा छ । शिरमान बुढा जस्तो यौन पिपासु, छम्पेनी दिदी जस्ती विद्रोही आमा र कृष्णा जस्ता नाबालक चेलीहरु हाम्रै आफ्नै समाजका पात्र लाग्न थाल्छन् ।

तेस्रो कथा ‘याम्बुनेर’ पढेपछि प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईको युक्ति याद आउँछ ‘Ban Vs Brand’ । यो कथा हजारौ नेपाली ग्रामीण जीवनको सोममायाको कथा हो । आर्थिक रुपले रक्सी पारेर जीविकोपार्जन गर्ने महिलाको कथा हो । तर कहाँ सजिलो छ र ? परम्परागत तवरले पारिएको रक्सी अवैधानिक हुन्छ । बजारमा सिलप्याक रक्सि खुलेआम बिक्री हुँदा हाम्रा चेलिबेटीले धुँवाको मुस्लो सहँदै बनाएको रक्सिको जारहरु घोप्ट्याइन्छन् । न त नेपाली शुद्ध रक्सिलाई ब्राण्ड बनाउने सोच छ न त उत्पादन अनुमति । घोप्ट्याइएका रक्सिसँगै उनिहरुको भविष्य घोप्टिन्छ, जीवन जिउने आधार घोप्टिन्छ । यही कथाको दोस्रो भागमा प्रहरी आएर सबै रक्सि पार्ने सामाजको तोडफोड र बेच्नलाई ठिक्क पारेको रक्सी घोप्ट्याएको दृष्यले कति बेला आँशु आएछ पत्तै पाइन ।

वैदेशिक रोजगारमा गएर सपनाको एउटा घर बनाउने भगवान तामाङको ‘भगवान निवास’ को कथाले आम युवाहरुको सपना कैद गरेको छ । बुबाले, हजुरबुबाले बनाउन नसकेको घर ६ वर्षको अथक विदेश बसाई पछि बनाउँदा भगवानलाई कम्ता हर्ष छैन । लामा विधि अनुसार घरको सबै पुजा सकेर खुसी भएको भगवानको घर एक निमेशमा खतम हुन्छ, २०७२ वैशाख १२ को भूकम्पले ।

“आयाम” कथा आफ्नो पति गुमाएका महिलाहरुको प्रतिनिधि कथा हो । कथामा जस्तो भाग्यमानि जो कोही कहाँ हुुन्छ र ? आफ्नो पति गुमाएपछि छोरी जस्तै माया पाउनु, रोजगारको लागि बाहिर पठाउनु र छोरी समान बुहारीलाई विवाहको अनुमति दिने आमासितको आयाममा प्रेमको महासागरमा डुबेकी एक चेलीको कथा मर्मस्पर्शी छ । कथाको वहावले मन छुन्छ । शुरुमा त कहाँ थाहा हुन्छ र युवती विवाहित र उनको पतिको मृत्यु भएको भन्ने ? फ्ल्यासब्याक शैलीलाई कथाकारले राम्ररी समातेको भान हुन्छ ।

‘घडी फूल’ अथवा समय फूल्ने फूल । घडि फूलको विम्व दिइएको यस कथामा एक अन्र्तजातिय विवाहलाई देखाउन खोजिएको छ । तिहारमा चेली आउँदाको रमाइलो पनलाई वास्तविकतासँग जोड्न खोजिएको साथमा चेली नआउँदाको छटपटी । विवाहित चेली टि.बी ले गस्त भएपछि उनको घरपरिवारले गरेको अपहेलना र माइतिले गरेको संरक्षणलाई रोचक ढंगले प्रस्तुत गरिएको पाइयो ।

‘ड्राइभरका आँखा’ कथाले आम मानिसहरुले ड्राइभर अझ भनौं ट्रक ड्राइभरप्रति हेर्ने हाम्रो दृष्टिदोष हटाएको छ । मूलतः राजमार्गमा कुद्ने ट्रक ड्राइभरहरु पनि कसैको दाजु हुन्, कसैैको बुबा र कसैको श्रीमान् हुन् । सबैलाई एकनाशले बुझ्नु हुन्न भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

‘गंगारामको साइकल’ एक मधेशी समुदायको कथा हो । मधेशी समुदाय भन्ने बित्तिकै दोस्रो नागरिक सरह गर्ने व्यवहारविरुद्धको शंखघोष यस कथामार्फत कथाकारले गरेकी छिन् । धेरै गंगारामहरु क्षेत्रियताको शिकार हुन विवश छन् । थिचिएका छन्, आवाज दबाइएको छ तै पनि देशभित्र देश खोजिरहेछन् गंगारामहरु ।

‘गन्धे झार’ भन्ने शीर्षकको कथाले माओवादी शसस्त्र विद्रोहको केही वियोगान्त तस्वीर रोचक ढङ्गले प्रस्तुत गरेको छ । विद्यार्थी जीवनमै संघर्षमा होमिएका ‘दिपेश थापा’ जस्ता प्रतिनिधि युवाको कथा बडो रोचक ढङ्गले प्रस्तुत गरिएको छ । हाम्रै वरिपरि पनि शसस्त्र द्वन्द्वमा वेपत्ता भई अन्तिम कर्म गर्न लाग्दा टुप्लुक्क आइपुगेका व्यक्ति धेरै छन् । पति वियोगमा सेतो सारीमा बेरिएर आँखा सामुन्ने दुरुस्तै आफ्नो पति देखेको घटना एकाध हैनन् । त्यस्तै–त्यस्तै घटनाको झझल्के दिन्छ, गन्धे झार कथाले ।

‘आइतिमाया’ कथा की आइतिमाया हाम्रो ग्रामीण जीवनको आम विवाहित महिला हुन् । घरायसी कार्यमा व्यस्त रहने आइतिमायाको आफ्नो पतिप्रतिको शंका स्वाभाविक छ । जङ्गल, घाँसदाउरा अनि घरको सबै काम पनि हेर्नु पर्ने आइतिमायाहरुको विवशता देखाइएको छ । आइतिमायाको आफ्नो पतिप्रतिको प्रेमलाई कलात्मक रुपमा देखाउन कथाकार सक्षम भएकी छिन् ।

अन्तरजातिय तथा अन्तरधार्मिक विवाहले उत्पन्न गरेको समस्या हाम्रो समाज जहाँतहाँ व्याप्त छ । “जुनेदो” कथाले एक हिन्दु पुरोहितकी छोरी एक मुस्लिम युवाबीचको प्रेमकथालाई प्रस्तुत गरेको छ । हाम्रो समाजको जातीय, धार्मिक र लैङ्गिक विभेद चिर्न कहाँ सजिलो छ र ? जुनेदो जस्ता पात्रहरु आफ्नो प्रेमको विष पिएर बाँच्छ बाध्य छन् ।

‘ब्याड भाले’ समकालिन समाजमा महिलाको विद्रोह हो । नानी पाउन नसक्दा पुरुषहरु बहुविवाह गर्न समाजले पचाउने तर त्यही कुरा पुरुषको हकमा लागू नहुने । महिला आफ्नो स्वतन्त्रतामा बन्धक रहनु पर्ने बाध्यता नेपाली समाजमा छ । यस कथामा कथाकारले महिला विद्रोहलाई आकर्षक र रोचक ढङ्गले प्रस्तुत गरेकी छिन् ।

‘सिफलको फेरो’ कथा पढ्दै जाँदा कता–कता आफैमा हराएको प्रतित हुन्छ । फ्ल्यासब्याक न्यारेटिभ रहेको कथा अनायसै लामो जस्तो पनि प्रतित हुन्छ । आफ्नै मान्छेहरुबाट कसरी चेलीहरु बेचिन बाध्य छन्, भन्ने कथा प्रस्तुत गरिएको छ । कोठीबाट बाहिर आएपछिको असहजतालाई सहजतामा ढाल्दै सेर्मोले आफ्नो जीवन अगाडि बढाएको घटना यसमा प्रस्तुत गरिएको छ । कोठीको नरकीय जीवन र सेर्मोले भोगेको कष्ठ पढ्दै जाँदा कतिबेला आँखाबाट आँशु छचल्किएछ पत्तै नपाइने ।

अन्त्यमा, फिनिक्स बुक्स ले प्रकाशन गरेको यो कथा सङ्ग्रह पढ्दै जाँदा १७३ पेज सकिएको थाहा नै नहुने । हरेक कथा फरक छन् र एउटा सक्ने बितिक्कै अर्काे कथाको हुटहुटि आइ हाल्ने । मन छुने सामाजिक यथार्थ कथा पस्कने कथाकार विना थिङलाई टक्रयाउँने शब्द मात्र छ मसँग । “धन्यवाद विना थिङ !”

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!