धनकुटा । धनकुटा नगरपालिका–७ मदनचौकस्थित हाम्रो बहुमुखी पाठशालाको भवनमा गएराती आगलागी भएको छ । आगलागीबाट पाठशालामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
राती करिब २ बजेबाट सुरु भएको आगो झण्डै दुई घण्टापछि नियन्त्रण भएको छ । धनकुटा नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले बिहान करिब ४ बजे आगो नियन्त्रणमा लिएका हुन् । नर्वदेश्वर शिवालय मन्दिरको जग्गामा टिनको बेरा लगाएर बनाइएको एक तले भवनमा तीन बर्ष अघिदेखि पाठशाला सञ्चालन गरी नृत्य, सङ्गित, चित्रकलासहित बिभिन्न सिप सिकाइदै आएको थियो । आगलागीबाट पाठशालामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको पाठशाला सञ्चालक सोभित श्रेष्ठले बताए । ‘राती आगलागी भएकाले केही पनि निकाल्न पाइएन,’ श्रेष्ठले संगालोखबरसँग भने ‘हेर्दा हेर्दै सबै सामान जलेर खरानी भयो ।’
आगलागीबाट टपरी बनाउँने मेसिन, विद्युतबाट कुखुराको चल्ला निकाल्ने ह्याचरी मेसिन, साउण्ड सिस्टम, जातिय भेषभुषा लगायत सामाग्री जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ३५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘हामीले सबै सामानको यकिन मुचुल्का गर्न वाँकी छ । प्रारम्भिक रुपमा हेर्दा ३० देखि ३५ लाख हाराहारीको क्षति भएको अनुमान गरेका छौं,’ धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले भने ।
कसरी भयो आगलागी ?
आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अुनमान छ । तर, पाठशाला सञ्चालक श्रेष्ठ भने विद्युट सर्ट भएको जस्तो नदेखिएको तर्क गर्छन् । कसैले आगो लगाइदिएको हुनसक्ने श्रेष्ठको अनुमान छ । उनी भन्छन् ‘विद्युत सर्ट भएको भए एक साइटबाट आगो सुरु हुँनुपर्ने हो । तर, भवनको चारै पटीबाट एकैसाथ आगो सल्किएको देखिन्छ । डाहा गर्ने कसैले आगो लगाइदियो कि जस्तो लाग्छ ।’
पाठशालाले प्रयोग गर्दै आएको सो भवनमा राती कोही पनि बस्ने गरेका थिएनन् । राती आगलागी भएर ठूलो आवाजमा ग्यास सिलिण्डर पड्किएपछि छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । मुख्य बजार क्षेत्रमै आगलागी भएपनि दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयबासीले निभाएकाले आगो अन्यत्र फैलिएर थप क्षति हुँनबाट जोगिएको छ ।
थप तस्वीरहरु…
तस्वीरः पूर्ण चौधरी, सन्तबीर लामा र सन्तोष सुवेदी