विराटनगर । नेपाली काँग्रेसका नेता एवं तत्कालित विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर अशोक कोइरालाको ७७ बर्षको उमेरमा गएराती निधन भएको छ । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राती करिब १ बजे कोइरालाको निधन भएको काँग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए ।
संविधानसभाका सदस्यसमेत रहेका कोइरालालाई स्वासप्रश्वासमा समस्या देखिएपछि वुधवार बिहान अस्पताल पुर्याइएको थियो । कोइरालाको पार्थिव शरिरलाई दिउँसो १ बजे काँग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने काँग्रेस सभापति लिम्बूले बताए । ‘उहाँको पार्थिव शरिरलाई दिउँसो पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि हाटखोलाको सिंघीय घाटमा आजै अन्त्येष्टि गर्ने तयारी गरेका छौं,’ सभापति लिम्बूले संगालोखबरसँग भने ‘श्रद्धाञ्जलीका लागि पार्टीका केन्द्रिय नेताहरु सशांक कोइराला, डा.शेखर काइलाला, डा.मिनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला लगायत पनि आउँदै हुनुहुन्छ ।’
अशोक, पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका भाइसमेत हुन् । उनी २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरपालिकाको पहिलो मेयरमा निर्वाचित भएका थिए । विराटनगर अहिले महानगर बनेको छ । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।