विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री आधारभूत विद्यालय खैरवनालाई गाउँपालिकाले नयाँ भवन निर्माण गरि हस्तान्तरण गरेको छ । गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेको दुई कोठे पक्की भवन बुधबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको हो ।
१८ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन गाँउपालिकाका अध्यक्ष रामकुुमार कामतले उद्घाटन गरेका छन् । सोही अवसरमा विराटनगर प्राइम राउण्ड टेबल नं. १० ले विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्रीसहित ६६ थान डेक्सबेन्च प्रदान गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुुण्दडाले राउण्ड टेबलको तर्फबाट ३ लाख ५० हजार मूल्य बराबरको फर्निचर सामाग्री विद्यालयका प्रधानाध्यापक बलबहादुुर वस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि एक दशकको अवधिमा राउण्ड टेबल १० ले सो बिद्यालयको पुर्वाधार निर्माण र शैक्षिक स्तरोन्नतिमा १ करोड बढीको लगानी गरिसकेको छ । कार्यक्रममा स्थानीय समाजसेवी विद्यानन्द माझीले आफ्ना बाबुआमा बद्रिनारायण माझी र सहरीदेवी माझीको स्मृतिमा जेहन्दार विद्यार्थीका लागि अक्षयकोषसमेत स्थापना गरिदिएका छन् । १ लाख ५१ हजार बराबरको सो कोषवाट विद्यालयका जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा पुुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक वस्नेतले जानकारी दिए ।
बालकक्षादेखि कक्षा ८ सम्म पढाई हुुने सो विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये २ सय ४५ जना दलित समुदायका विद्यार्थीहरुले सो विद्यालयमा अध्ययन गर्दै आएका छन् ।