धनकुटा । धनकुटा नगरपालिका–६ सिरानबजारको एक घरमा वुधवार दिउँसो आगलागी भएको छ । सिरानबजारका धनवहादुर ब्लोन तामाङको घरमा दिउँसो साँढे ३ बजे आगो लागेको हो ।
आगलागीबाट दुई तले कच्चि घर जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडा, नगद १० हजार, आठानी सून लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले करिब दुई घण्टापछि आगो निभाएका छन् । दिउँसो खानेकुरा पकाएर धनबहादुर र श्रीमति बिष्णुमायाँ बजार निश्किएका थिए । अगेनोमा बालेको आगो राम्रोसँग ननिभाउँदा त्यहीबाट बाँसको चिममा सल्किएर घरमा आगो लागेको अनुमान गरिएको छ ।
घरमा कोही नभएका बेला आगो लागेकाले शरिरमा लगाएको लुगा बाहेक सबै सामान जलेर नष्ट भएको आगालागीपीडित धनवहादुरले गुनासो गरे । घरमा वृद्ध दम्पतीसहित छोरा–वुहारी, २ छोरी र २ नातिनी बस्दै आएका थिए । निम्न आर्थिक अवस्थाको तामाङ परिवारले मजदुरी गरेर जिविका चलाउँदै आएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि तामाङ परिवारको बिचल्ली भएको छ । उनीहरु अहिले छिमेकमा आश्रय लिएर बसेका छन् ।