- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)


बि.सं.२०७७ साल माघ ६ गते मंगलबार ई. सं. २०२१ जनवरी १९ नेपाल सम्बत ११४१ पोहेलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हिउद ऋतु, पुष शुक्ल षष्ठी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र १०ः९ सम्म त्यसपछि रेवती नक्षत्र, शिव योग ७ः०० सम्म त्यसपछि सिद्ध योग, तैतल करण ११ः१६ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ५४ मिनेट देखि १ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।

Advertisement

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन । प्रतिष्प्रर्धीहरु परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!