
काठमाडौं । मुक्तिनाथ विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरामा भएको साधारण सभाले आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ प्रतिशत बोनस सेयरसहित १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, आर्थिक बर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन, ०७७/०७८ को लेखापरीक्षक नियुक्ति लगायत प्रस्तावहरु पनि साधारण सभाले पारित गरेको छ । साधारण सभामा बैंक सञ्चालक समिति अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रतिवेदनमाथि प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी सेयरधनीहरुले सल्लाह, सुझाव दिनुका साथै जिज्ञासा राखेका थिए । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले स्पष्ट पारेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । बैंक सञ्चालक समिति अध्यक्ष ढकालको अध्यक्षतामा भएको साधारण सभामा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए भने बैंक सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले सहभागिहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए ।


























