विराटनगर । प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै प्रदेश नं. १ का नागरिक समाजका अगुवाहरुले खबरदारी गरेका छन् । बिहीबार विराटनगरमा आयोजित ‘प्रतिनिधि सभा विघटनको बिषयमा वर्तमान राजनीतिक संकट र त्यसको निकास’ बिषयक अन्तरक्रियामा नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै विरोध जनाएका हुन् ।
संसद् विघटनले लोकतान्त्रिक प्रक्रियालाई संकटमा पार्नुका साथै संघीय प्रणाली निर्माण गर्ने राजनीतिक अभ्यासलाईसमेत गम्भीर आघात पुर्र्याएको उनीहरुको भनाई छ । प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष रहने संवैधानिक प्रावधान भएकाले संविधान विपरीत प्रतिनिधिसभाको विघटनलाई आम नागरिकले नस्वीकारने उनीहरुको तर्क छ । कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकारको नाम दिएर संविधानलाई घाइते बनाएको बताए ।
प्राद्यापक डाक्टर प्रमोद कुमार झाले असंवैधानिक तवरबाट संसद् विघटन हुने घटनाले मुलुकलाई दुर्बल अर्थव्यवस्तातर्फ धकेलेको जिकिर गर्दै अब मुलुकमा दिगो विकास र आर्थिक क्रान्ति ल्याउन असम्भव रहेको दावी गरे । त्यस्तै, प्रदेश नं. १ का निर्वतमान आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले प्रधानमन्त्री ओलीले संविधान मिचेर कुतर्क गर्दै हिडिरहेको आरोप लगाएका छन् ।