झापा । झापाको गौरीगन्ज गाउँपालिका–२, कोरोबारीमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सूर्य कटुवालले एक बालिकामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत कोरोबारीमा सीमा सुरक्षामा खटिएका असई कटुवालले स्थानीय १२ बर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोप लागेको हो ।
घटना आईतबार रातीको हो । राति करिब साढे ९ बजे मादक पदार्थ सेवन गरेर आएका असई कटुवालले बालिकाको घरभित्र पसेर उनीमाथि बलात्कार प्रयास गरेको पीडित परिवारका सदस्यले बताएका छन् । जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएकी थिईन् । छोरी चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमा तत्काल आएर कटुवाललाई बाहिर निकालेकी थिईन् ।
बालिकाकी आमालाई हातले झट्काएर कटुवाल भागेको बताईएको छ । पीडित बालिकाका बुबासहित दाजुबहिनी छिमेकीकोमा टिभी हेर्न गएका थिए । यता, कोरोबारी प्रहरी चौकीमा सोमबार निवेदन दर्ता गर्न जाँदा प्रहरीले निवेदन नलिई फर्काएको पीडित परिवारले गुनासो गरेका छन् ।