
धनकुटा । जिल्ला विपत व्यवस्थापन समितिले धनकुटामा बर्षाका कारण १०५ घर पूर्ण क्षति भएको ठहर गरेको छ । बिगत केही महिना यताको बर्षा तथा बर्षाका कारण आएको बाढी पहिरोले घर पूर्ण क्षति भएकाहरुलाई राहत सिफारिस गर्न क्षतिको विवरण यकिन गरिएको हो ।
जिल्ला विपत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँ–गाउँबाट आएका क्षतिको विवरण मूल्यांकन गरी ६४ घर पूर्ण क्षति भएको ठहर गर्दै उनीहरुलाई घर निर्माणका लागि राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि बसेको समितिको बैठकले पूर्ण क्षति भएका ४१ घर निर्माण गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
अघिल्लो बैठकमा छुटेका क्षतिको विवरणलाई मंगलबारको बैठकले थप गरेर १०५ घरलाई राहतका लागि गृह मन्त्रालयमा सिफासिर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए । ‘गाउँ–गाउँबाट क्षतिको विवरण संकलन भएको थियो । आएका विवरणलाई मूल्यांकन गरेर पूर्ण क्षति भएका घरलाई राहतका लागि सिफारिस गर्ने निर्णय भएको छ ।’ प्रजिअ बिमलीले संगालोखबरसँग भने–‘अन्यत्र घर नभएका र बस्दै आएको घर क्षति भएर बस्न नमिल्ने अवस्थामा पुगेकाहरुलाई राहतका लागि सिफारिस गर्न लागेका हौं । सिफारिसमा परेकाहरुले भूकम्पपीडितले पाउँने सरहको राहत पाउँछन् ।’
पूर्ण क्षतिको सिफारिसमा परेकाहरुले घर निर्माण गर्न तीन लाख रुपैयाँसम्म पाउँने बताईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठका अनुसार बर्षाका कारण घर क्षति भएकाहरुले राहतका लागि निवेदन दिएका थिए । सोही आधारमा प्रहरीबाट सर्जिमिन गरियो । प्रहरी सर्जिमिनसँगै वडा कार्यालयले पनि पूर्ण क्षतिको सिफारिस गरेर पठायो । क्षतिको विवरणलाई पालिकास्तरीय स्थानीय तह विपद व्यवस्थापन समितिले मूल्यांकन गरी पूर्ण क्षतिको विवरण जिल्लामा पठाएको थियो । पालिकाबाट पूर्ण क्षति भएका घरहरुमा प्राविधिक पठाएर क्षतिको रिपोर्ट लिईएको थियो । सात वटै पालिकाबाट आएका विवरणलाई जिल्ला विपत् व्यवस्थापन समितिले मूल्यांकन गरेर पूर्ण क्षति भएको यकिन गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
यता, खोलाले बगाएर मृत्यु भएका साँगुरीगढीका एक व्यक्तिको परिवारलाई पनि दुई लाख राहत उपलब्ध गराउँने निर्णय भएको छ । यसअघिको बैठकको निर्णय अनुसार घरले किचेर मृत्यु भएका महालक्ष्मीका एक व्यक्तिका परिवारलाई दुई लाख राहत उपलब्ध गराईसकिएको प्रशासन कार्यालयले जनाएको छ ।















