
मोरङ । बिराटनगरमा प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम छन् ।
बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यमिक बिद्यालयमा तोकिएको परीक्षा केन्द्रमा परीक्षा दिईरहेको अवस्थामा सोमबार दिउँसो आलम पक्राउ परेका हुन् । लोकसेवा आयोगको कार्यालय धनकुटाले लिएको लिखित परीक्षामा उनी नक्कली परीक्षार्थीको रुपमा परीक्षा दिन पुगेका थिए ।
हरिनगरा–१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा विल्साद पक्राउ परेका हुन् । लोक सेवा आयोगको कार्यालयका प्रतिनिधिले नक्कली परीक्षार्थी फेला परेको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।















