
धनकुटा । १७ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा धनकुटा नगरपालिकाले ४५ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । स्वयंसेविकाहरुले पुर्याएको योगदानको कदर गर्दै नगरपालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा लगायतले स्वयंसेविकाहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मानित गरेको नगरका स्वास्थ्य संयोजक भोजराज भण्डारीले जानकारी दिए । भीरगाउँमा ३० बर्षसम्म स्वयंसेविकाको भूमिका निर्वाह गरी उमेरका कारणले जिम्मेवारी छोडेकी दुर्गादेवी थापालाई नगरपालिकाको तर्फबाट २० हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गर्दै बिदाई गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले स्वास्थ्य स्वयंसेविकालाई मासिक ५ सयका दरले प्रदान गरिदै आएको सेवा सुविधालाई थप गर्ने बताएका छन् । उनले ५ लाख रकम कोषमा जम्मा गर्ने र सेवाबाट बाहिरिदा सेवा बर्ष अनुसार सुविधा थप्ने लगायत अन्य सुबिधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत थापाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताएका छन् ।















