रबिन कटेल/संगालोखबर
फायल तस्वीर : संगालोखबर

धनकुटा । आठपहरिया जातिको महान चाड वाडाङ्मेट सोमबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मूख्य बसोबास रहेका आठपहरिया जातिले मूख्य पर्वको रुपमा वाडाङ्मेट मनाउँने गर्छन् । मंसिरे चाडको रुपमा पनि लिईने यो पर्व कार्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म धुमधाम मनाउँने गरिन्छ ।

पुत्र लाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दिर्घायूको कामना गर्दै जन्मोत्सवलाई हर्ष बढाई गरी मनाउने चलन छ । बिगत एक बर्षको अवधिमा मृत्यु भएका व्यक्तिको पितृकार्य यो चाडसँगै सक्ने परम्परा छ । जुठो बारेर बसेकाहरुले पितृकार्य सकी दुःख भुलेर हर्सोल्लासपूर्वक वाडाङमेट मनाउँने गर्छन । वाडाङमेट सकिएपछि मृत्यु भएकाको काजकिरिया सक्न अर्को सालको वाडाङमेट पर्खिनुपर्ने चलन छ ।

Advertisement

धनकुटाका आठपहरियाहरुले सुनसरीको बराहक्षेत्र धाम पुगेर पितृकार्य गरी फर्कने गर्छन् । पितृकार्यका लागि हिडेरै जाने र हिडेरै आउँने चलन रहेको किरात आठपहरिया समाजका जिल्ला सचिव सन्देश आठपहरियाले बताए । ‘मान्छे मरेको घरका परिवार र आफन्त हिडेरै बराहक्षेत्र पुग्ने र हिडेरै फर्किएर आउँने चलन छ ।’ संगालोखबरसँग उनले भने–‘बराहक्षेत्र जाने क्रममा आहालेमा बास बसेर मुन्धुम गाउँने अनि भोलिपल्ट भुल्के हुँदै बराहक्षेत्र पुगी कपाल काटेर चोखिन्छन् ।’

फायल तस्वीर : संगालोखबर

यस पटक पनि गत शुक्रबार बराहक्षेत्रका लागि धनकुटाबाट हिडेकाहरु चार दिनपछि सोमबार धनकुटा फर्किएका छन् । धनकुटामा बिगत एक बर्षको अवधिमा ५४ जना आठपहरियाहरुको मृत्यु भएको छ । उनीहरुका परिवारका सदस्य तथा आफन्तहरु बराहक्षेत्र पुगी पितृकार्य गरेर फर्किएका हुन् । अब, हरेक घर–घरमा फुलमाला पहिरिएर केसिङ (ढोल) सहित समूह–समूहमा गोलबद्ध भई १५ दिनसम्म निरन्तर नाचगान गर्दै वाडाङ्मेट मनाउँने गरिन्छ । एक बर्षभरी मृत्यू भएका आफन्तहरुको चीर शान्ति र भावी पुस्ताको उन्नतिको कामना गर्दै शुभकामना साटासाट गरिन्छ । आ–आफ्ना घरमा अन्न र मासुबाट बनाईएका विभिन्न परिकार चिउरीको पातमा राखेर आफन्तलाई प्रसाद स्वरुप बाँडेर खाई औंसीमा यो चाड समापन हुन्छ । मंसिरे चाड वाडाङ्मेटलाई सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा वाडाङ्मी भनेर मनाउने गरिन्छ । वाडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले नगर क्षेत्रमा सोमबार सार्वजनिक विदासमेत दिएको छ ।

धनकुटा नगरपालिका क्षेत्र आठहरियाको उद्गम स्थल हो । देशभर करिब १० हजारको संख्यामा रहेका आठपहरियाहरुमध्ये धनकुटामा मात्रै झण्डै ८ हजारको बसोबास छ । मूख्यगरी धनकुटा नगरपालिकाको वडा नं. २, ७, ८ र ९ मा आठपहरियाहरु बसोबास गर्दै आएका छन् । आदिवासी जनजातिमा सुचिकृत हुनबाट बञ्चित अल्पसंख्यक आठपहरियाहरुले बर्षौ अघिदेखि आदिवासी जनजातिमा सुचिकृतको मागसमेत गर्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!