
सुनसरी । हत्या गरेर फरार भएको १३ बर्षपछि सुनसरीका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सुनसरीको ०७१ साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै २० बर्ष कैद सजाय तोकिएका ३२ बर्षीय कृष्ण कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका धामी लगायत उनका साथीले ०६४ बैशाख २८ गते साथीको बिवाहमा जन्ती गएका बेला तत्कालिन एकम्बा गाबिस–४ का सुनेर कुमार ठाकुरलाई छुरा प्रहार गरी भागेका थिए । घाईते ठाकुरको उपचारका क्रममा धरानस्थित वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उर्लावारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई तोकिएको कैद भुक्तानका लागि झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते प्रहरीले पक्राउ गरेको थियो ।