- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेका युवाहरुले देउसी खेलेर उठाएको पैसा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । कोरोना नियन्त्रणमा खटिरहेको केन्द्रलाई सहयोग स्वरुप युवाहरुले देउसीबाट संकलित ८५ हजार २ सय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।

देउसी तथा घरदैलो अभियानको अगुवाई गर्ने मारेककटहरेस्थित ताले टोलका युवा सुमन अधिकारीले मंगलबार काठमाण्डौंस्थित राष्ट्रिय आविष्कार केन्द्रमैै पुगेर केन्द्रका प्रमुख महाबिर पुनलाई रकम हस्तान्तरण गरेका छन् । सो अवसरमा पुनले युवाहरुको सहयोगी भावनाको प्रशंसा गरे । मुलुकलाई सूचना तथा प्रबिधिको क्षेत्रमा योगदान गर्ने गरी पुन नेतृत्वको केन्द्रले काम गरिरहेको छ । कोरोना नियन्त्रणका लागि पनि केन्द्रले स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको निर्माण गरेर वितरण गर्दै आएको छ ।

आविष्कार केन्द्रले कोरोना नियन्त्रणमा काम गरिरहेको हुँनाले गाउँ–गाउँमा देउसी तथा घरदैलो अभियान सञ्चालन गरेर रकम संकलन गरी सहयोग स्वरुप प्रदान गरिएको अभियानकर्ता अधिकारी बताउँछन् । उनी भन्छन्–‘अहिले विश्वनै कोरोनासँग जुधिरहेको छ । गाउँका युवाहरुले पनि कोरोना नियन्त्रणमा केही सहयोग पुर्याउँन सक्छौ भन्ने लागेर रकम संकलन गरी प्रदान गरेका हौं ।’

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न मारेककटहरेस्थित ताले टोलका समन, सुरज र मौसम अधिकारीको अगुवाईमा गाउँमा देउसी सुरु गरिएको थियो । तर, प्रशासनले कोरोना संक्रमण फैलनसक्ने भन्दै देउसीमा रोक लगाएपछि उनीहरुले पाँच दिनसम्म घरदैलो अभियान सञ्चालन गरेर रकम संकलन गरेका हुन् ।

मारेककटहरेस्थित ताले, जालपा, तेलुङ, घुमाउँने, मच्चेपु लगायत क्षेत्रका १ सय १४ व्यक्ति तथा परिवारबाट रकम संकलन गरिएको अधिकारीले बताए । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने थाहा पाएपछि उनीहरुको अभियानमा अन्य व्यक्तिले पनि सहयोग गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!