- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाबाट सेवा लिन अब राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । प्रशासनबाट प्रवाह हुँने सबै किसिमका सेवा लिनका लागि राष्ट्रिय परिचय पत्र वा परिचय पत्रका लागि विवरण दर्ता गरेको ‘कन्फरमेशन पेज’ को फोटोकपी अनिवार्य चाहिने भएको हो ।

प्रशासनले सूचना जारी गर्दै सेवाग्राहीहरुलाई सेवा लिन आउँदा राष्ट्रिय परिचय पत्र वा ‘कन्फरमेशन पेज’ को फोटोकपी अनिवार्य ल्याउँन आग्रह गरेको छ । राहदानी बनाउँन वा बनी सकेको राहदानी लिन, आदिवासी जनजाति सिफारिस बनाउँन, संस्था दर्ता तथा नविकरण गर्न, नाता प्रमाणित लगायत काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै नावालक सिफारिसका लागि बाबु आमाको राष्ट्रिय परिचय पत्र चाहिने छ ।

सरकारको केन्द्रिय नीति अनुसार प्रशासनका सबै सेवा लिन राष्ट्रिय परिचयपत्र वा विवरण दर्ता गरेको ‘कन्फरमेशन पेज’ को फोटोकपी अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए । राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता नगराएकाहरुलाई विवरण दर्ता गराउँन पनि प्रशासनले आग्रह गरेको छ । राष्ट्रिय परिचय पत्र बनाउँन विवरण पेश गर्दा सक्कल नागरिकता, विवाहित महिलाको हकमा सक्कल विवाह दर्ताको प्रमाण पत्र, बसाँई सरी आएकाको हकमा सक्कल बसाँई सराईको प्रमाण पत्र र बाबु आमाको नागरिकताको फोटोकपीसमेत लिएर आउन प्रशासनले आग्रह गरेको छ ।

सरकारले बैंक तथा वित्तिय संस्थामा खाता खोल्न, ऋण, चल अचल सम्पत्ति खरिद विक्रि गर्न, पेन्सन बुझ्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर विक्रि गर्न, लोकसेवाको फारम भर्न, राहदानी बनाउँन तथा बत्ती, पानी र टेलिफोन सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने तयारी गरेको छ । सोही कारण प्रशासनले पनि सबै सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले गत साउन महिनाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्दै आएको छ । मंगलबारसम्म धनकुटाका ४७३ जनाले विवरण दर्ता गराएका छन् । विवरण दर्ता गराउँनेहरुलाई तत्काल ‘कन्फरमेशन पेज’ को फोटोकपी दिईने र तीन महिनाभित्र केन्द्रबाट राष्ट्रिय परिचयपत्र आउँने प्रशासनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!