- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउँन जग्गा अधिग्रहणका लागि सरकारले स्वीकृति दिएको छ । विमानस्थल विस्तारका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जग्गा अधिग्रहणका लागि प्रस्ताव गरेको थियो । मन्त्रीपरिषद्को कात्तिक २७ गतेको बैठकले जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिएका छन् ।

विराटनगर विमानस्थलमा अहिले १ हजार ५ सय मिटरको धावनमार्ग छ । अहिले नेपाली बिमान कम्पनीहरुले मात्र उडाड भर्दै आएका छन् । अब, बिमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाई बिदेशी बिमानहरुलाई पनि उडान र अवतरण गर्न सक्ने बनाउँन ३ हजार मिटरको धावनमार्ग बनाउँने तयारी गरिएको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच असोज १९ गते सम्झौतासमेत भईसकेको छ । सम्झौता अनुसार जग्गा अधिग्रहणका लागि प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत खर्च व्यहोर्नेछ ।

यसअघि प्राधिकरणले पूर्वतर्फ विमानस्थलको पुर्वपटिको ‘एप्रोच प्वाइन्ट’ मा पर्ने ४ बिघा ८ कठ्ठा जमिन अधिग्रहण गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृतिपछि प्राधिकरणलाई विमानस्थल पश्चिम एप्रोचतर्फको जग्गा अधिग्रहण गर्न बाटो खुलेको छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!